२०३०५३ - फौजदारी
- Registration Number
- ०७५-CR-२४३२
- Decision Date
- 2081-09-23
- Registration Date
- 2076-02-16
- Bench
- हरि प्रसाद फुयाल, महेश शर्मा पौडेल
- Plaintiff
- ऋषिराम बुढाथोकी
- Defendant
- नेपाल सरकार
Summary
मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा, कार्यालय सहयोगी र एक लेखापढी व्यवसायीलाई घुस लिएको आरोपमा विशेष अदालतले दोषी ठहर गरेकोमा सर्वोच्च अदालतले उक्त फैसला उल्टाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै उपलब्ध गराएको रकमलाई प्रमाणको रूपमा लिन नमिल्ने र घुस लिने मनसाय पुष्टि हुने अन्य स्वतन्त्र प्रमाण नभएको आधारमा सर्वोच्च अदालतले सफाइ दिने निर्णय गरेको हो।
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल
फैसला
०७५-CR-2207
०७५-CR-2359
०७५-CR-2432
०७५-CR-2637
शुरु तहमा फैसला गर्नेः अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
सदस्य माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
सदस्य माननीय न्यायाधीश नारायणप्रसाद पोखरेल
विशेष अदालत काठमाडौं
फैसला मितिः २०७५।११।२
मुद्दाः घुस/रिसवत लिई भ्रष्टाचार गरेको।
विशेष अदालत ऐन, २०५९ को दफा 17 बमोजिम वादी तथा प्रतिवादी दुवै तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स., वडा नं. २ कित्ता नम्बर १२८, कित्ता नं. ४१२ को क्षेत्रफल ११-८-२ र कित्ता नं. १३८ को क्षेत्रफल १-६-०-० जग्गा मोही टिकाबहादुर थापाको हकदार छोराहरु रामशरण थापा र खडग बहादुर थापा समेत दुईजनाको नाममा मोही दर्ता नामसारी स्रेस्ता कायम गरी लालपूर्जा लिने प्रयोजनको लागि रु. ४,००,०००।– (चारलाख रुपैयाँ) माग गर्ने मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्बा ऋषिराम बुढाथोकी र कार्यालय सहयोगी केशवबहादुर खत्रीले लेखापढी व्यवसायी विष्णुहरि न्हिसुतुसँग मिलेमतो गरी राष्ट्रसेबक कर्मचारीले आफ्नो पदीय हैसियतले गरिदिनुपर्ने काम सम्पन्न गर्नका लागि घुस रिसबत मागेका थिए। त्यसरी घुस दिई काम गराउनु भन्दा त्यस्ता भ्रष्ट कर्मचारीलाई कानुनी कारवाही गराउँदा उचित हुने ठानी निजहरुलाई दिनका लागि यस आयोगबाटै रू. ४,००,०००।– (चारलाख रुपैयाँ) नगदै मलाई उपलब्ध गराई पाऊँ। मबाट उल्लिखित कर्मचारीहरुले घुस/रिसवत लिएको अवस्थामा फेला परेमा दसी प्रमाण सहित पक्राउ गरी प्रचलित कानून अनुसार कारवाही गरिपाउँ भनी जिल्ला भक्तपुर, अनन्तलिङ्गेश्वर नगरपालिका, वडा नम्बर १३ बस्ने बर्ष ७४ को आरती थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल काठमाडौंमा दिएको उजुरी निबेदन।
जिल्ला भक्तपुर, अनन्तलिङ्गेश्वर नगरपालिका वडा नम्बर १३ बस्ने खडग बहादुर थापाको श्रीमती वर्ष ७३ को आरती थापाले रु. ४,००,०००।– (चारलाख रुपैयाँ) मालपोत कार्यालय, भक्तपुरका कर्मचारीलाई घुस दिने प्रयोजनको लागि यस आयोगबाटै रू. ४,००,०००।– (चारलाख रुपैयाँ) नगदै मलाई उपलब्ध गराई पाऊँ भन्ने बेहोराको निवेदन पेश भई आए अनुसार अनुसार रु.१,०००।– (एकहजार रुपैयाँ) दरका नोटहरु थान ४०० (चारसय) रकम उजुरी निवेदक आरती थापाले बुझेको भरपाई कागज।
जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका, वडा नं. १ स्थित पूर्वमा मालपोत कार्यालयतर्फ जाने सडक, पश्चिममा च्यामासिङतर्फ जाने सडक, उत्तरमा कमलपोखरीतर्फ जाने सडक, दक्षिणमा क्रमायणीतर्फ जाने सडक यति चारकिल्ला भित्र पर्ने मालपोत क्रमायणी सडकको पश्चिम किनारा रहेको सुवर्ण भोजनालयमा रहेको पश्चिम दक्षिणमा रहेको टेबुलमा पूर्वतर्फ फर्केर रहेको अबस्थामा कार्यालय सहयोगी केशबबहादुर खत्री बसेको अबस्थामा रहेको सोही टेबुलको पश्चिमतर्फ रहेको टेबुलमा नायब सुब्बा ऋषिराम बुढाथोकी पश्चिमतर्फ फर्केर रहेको एंव लेखापढी व्यवसायी निज नायब सुब्बा ऋषिराम बुढाथोकी बसेको टेबुलमा पूर्बतर्फ फर्केर रहेको अबस्थामा रहेकोमा निजहरुको शरीर खानतलासी गर्दा नायब सुब्बा ऋषिराम बुढाथोकीले दाहिनेतर्फ बोकेको कालो रंङ्गको झोलामा रहेको बरामदी मुचुल्कामा उल्लेख भए अनुसारको १,०००।– दरको तीन गड्डीमा रहेको अबस्थामा रु.३,००,०००।– (तीनलाख रुपैयाँ) र निज कार्यालय सहयोगी केशबबहादुरले लगाएको निलो रंगको ज्याकेटको दाहिने तर्फ रु.१,०००।– (एकहजार) दरको एक गड्डीमा रहेको अबस्थामा रु.१,००,०००।– (एकलाख रुपैयाँ) बरामद गरिएको भन्ने समेत बेहोराको बरामदी मुचुल्का।
मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी न्हिसुतुको गतिबिधि उपर निग्रानी राखी निजहरुले निबेदकसंग घुस रिसवत लिएको अवस्थामा फेला परे प्रमाणसहित पक्राउ गरी दाखिला गर्नु भन्ने यस आयोगको पत्रद्वारा हामीलाई खटाई पठाइएकोमा कर्मचारीहरु तथा लेखापढी व्यवसायी समेतको गतिविधिउपर निग्रानी राख्ने क्रममा जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका, वडा नम्बर १ स्थित मालपोत कार्यालय, भक्तपुरमा लेखापढी व्यावसाय गरी बस्ने नेवा कानूनी सेवा केन्द्रका संचालक विष्णुहरि न्हिसुतुले निबेदकसंग यस आयोगबाट उपलब्ध गराएको रकम लिई आज मिति २०७३।११।११ गते साँझ १९०० बजे जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित मालपोत कार्यालय, भक्तपुर नजिकै रहेको सुबर्ण भोजनालयमा निज लेखापढी व्यवसायी विष्णुहरि न्हिसुतुले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकीलाई र सोही कार्यलयका कार्यालय सहयोगी केशबबहादुर खत्रीलाई घुस रिसवत दिइसकेको भन्ने सूचनाको आधारमा निजहरुको शरीर तथा झोला तलासी लिंदा नायव सुब्बाले बोकेको कालो रंगको सोनी लेखिएको झोला भित्र लुकाई राखेको अवस्थामा सेवाग्राहीसँग घुस रिसवत बापत लिएको रु.१,०००।– (एकहजार) दरका नोटहरु थान ३०० ले हुने जम्मा रु ३,००,०००।– (तीनलाख रुपैयाँ) र स्रोत नखुलेको जम्मा रकम रु.१,०४,५००।– (एकलाख चारहजार पाँचसय रुपैयाँ) तथा सोही कार्यालयका कार्यालय सहायक केशबबहादुर खत्रीले सेवाग्राहीसँग घुस रिसवत बापत लिएको रु.१,०००।– (एकहजार) दरका नोटहरु थान १०० ले हुने जम्मा रु. १,००,०००।– (एकलाख रुपैयाँ) र स्रोत नखुलेको जम्मा रकम रु. २९,५००।– (उन्नन्तीसहजार पाँचसय रुपैयाँ) समेतका धनमाल फेला परेको र निज लेखापढी व्यवसायी विष्णुहरि न्हिसुतुको साथबाट स्रोत नखुलेको नगद रु.१,००,०००।- (एकलाख रुपैयाँ) रीतपूर्बक बरामद गरिएकोमा ऋषिराम बुढाथोकी, केशबबहादुर खत्री र विष्णुहरि न्हिसुतुलाई sodium carbonate को झोलमा हात धुन लगाउँदा निजले हात धोएको शिसाको गिलासमा रहेको पानीको रंग बैजनी रातो (light pink to violate red) भएको र सोको नमूना समेत संकलन गरी रीतपुर्वकको मुचुल्का तयार गरिएको, बरामदी मुचुल्कामा उल्लिखित नोटहरु मेरो साथबाट बरामद भएका हुन भनी नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहायक केशबबहादुर खत्री समेतले सनाखत गरिदिएकोले नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहायक केशबबहादुर खत्री र लेखापढी व्यासायी विष्णुहरि न्हिसुतुलाई पक्राउ गरी दाखिला गरेका छौं भन्ने समेत बेहोराको प्रहरी नायब उपरीक्षक हेम कुमार थापा समेतको प्रतिवेदन।
उजुरी निवेदन कर्तालाई भर्पाई गरी यस आयोगबाट उपलब्ध गराईएको नोटहरुमा phenolphthalein नामक रसायनिक पदार्थ प्रयोग गरिएकोमा उक्त पदार्थको परीक्षणको लागि रकम बरामद भएको मौकामै नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री, लेखापढी व्यवसायी विष्णुहरि न्हिसुतु र स्थानिय भलादमी बटुकृष्ण खतिवडालाई sodium carbonate को झोलमा हात धुन लगाई सो पानीको नमूना संकलन गरिएकोमा उक्त पानीको नमूना र पत्रमा उल्लेख भए अनुसारको रु १,०००।– दरका नोटहरु जम्मा थान -१० (दश) समेत परीक्षणको लागि केन्द्रीय प्रहरी बिधिबिज्ञान प्रयोगशाला, काठमाण्डौमा पठाइएकोमा नमूना नं. १,२,३,५ र ६ मा phenolphthalein पाईएको नमुना नं. ४ मा नपाइएको भन्ने बेहोराको परीक्षण प्रतिवेदन।
म २०७३ साल असोजदेखि मालपोत कार्यालय, भक्तपुरको नायब सुब्बा पदमा कार्यरत रहेको छु। जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं. २ कित्ता नम्बर १२८ र ४१२ को क्षेत्रफल ११-८-२ र कित्ता नं. १३८ को क्षेत्रफल १-६-०-० जग्गा मोही टिकाबहादुर थापाको हकदार छोराहरु रामशरण थापा र खडगबहादुर थापा समेत दुईजनाको नाममा मोही दर्ता नामसारी श्रेष्ता कायम गर्ने कार्यको लागि लेखन्दास बिष्णुहरि न्हितुसुसंग रु.३,००,०००।– (तीन लाख) घुस/रिसवत लिएको हो। बरामदी मुचुल्कामा उल्लिखित कालो झोला मेरो हो।मिति २०७३,११।११ गते तयार गरेको बरामदी मुचुल्कामा भएको सहिछाप र बरामदी रुपैयाँको फोटकपीमा भएको दस्तखत मेरो हो र मबाट नमूना संकलन गरेको बेहोरा ठीक साँचो हो भन्ने समेत बेहोराको ऋषिराम बुढाथोकीको अधिकार प्राप्त अधिकारी समक्षको बयान कागज।
जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं. २ कित्ता नम्बर १२८, कित्ता नं. ४१२ को क्षेत्रफल ११-८-२ र कित्ता नं. १३८ को क्षेत्रफल १-६-०-० जग्गा मोही टिकाबहादुर थापाको हकदार छोराहरु रामशरण थापा र खडग बहादुर थापा समेत दुईजनाको नाममा मोही दर्ता नामसारी स्रेस्ता कायम गरी लालपूर्जा लिने प्रयोजनको लागि मालपोत कार्यालय, भक्तपुरमा जाँदा सो कार्यालयमा कार्यरत नायब सुब्बा ऋषिराम बुढाथोकीले काम सम्पन्न गर्न रु.५,००,०००।– (पाँचलाख रुपैया) घुस रिसवत लेखापढी व्यवसायी विष्णुहरि न्हिसुतु मार्फत माग गरेका थिए र उल्लिखित रकम प्राप्त भएपश्चात् मात्र काम सम्पन्न हुन्छ भनी घुस रकम नायब सुब्बा ऋषिराम बुढाथोकीले लिने कुरा थाहा पाएपश्चात् सोही कार्यालयमा कार्यरत कार्यालय सहायक केशवबहादुर खत्रीले मलाई समेत रु.१,००,०००।– (एकलाख रुपैया) चाहिन्छ भनी रकम माग गर्दै आएको थिए। निज बिष्णुहरि न्हितुसुले तत्काल रु.४,००,०००।– (चार लाख) दिनु भनेकोमा मैले सो रकम आयोगबाट बुझिलिई निज बिष्णुहरी न्हितुसुले मसंग बुझी सो रकममध्ये एक लाख कार्यालय सहयोगी केशबबहादुर खत्रीको साथबाट र तीन लाख रुपैयाँ नायब सुब्बा ऋषिराम बुढाथोकीबाट बरामद भएको हो भन्ने समेत बेहोराको उजुरी निवेदक आरती थापाको बयान कागज।
म मालपोत कार्यालय, भक्तपुरको कार्यालय सहयोगी पदमा २०७३ साल मंसिर महिनादेखि कार्यरत छु। जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं. २ कित्ता नम्बर १२८ र ४१२ को क्षेत्रफल ११-८-२ र कित्ता नं. १३८ को क्षेत्रफल १-६-०-० जग्गा मोही टिकाबहादुर थापाको हकदार छोराहरु रामशरण थापा र खडगबहादुर थापा समेत दुईजनाको नाममा मोही दर्ता नामसारी श्रेस्ता कायम गर्ने कार्यको लागि बिष्णुहरि न्हितुसुसंग रु.१,००,०००।-(एकलाख रुपैयाँ) घुस/रिसवत लिएको हुँ। उजुरीकर्तासंग रकम मैले आफै माग नगरी नायब सुब्बा ऋषिराम सरले सिकाए अनुसार भनिदिएको हो। खानतलासी बरामदी मुचुल्का र नोटहरुको फटोकपीमा भएको दस्तखत मेरो हो भन्ने समेत ब्यहोराको केशवबहादुर खत्रीको बयान कागज।
आरती थापाले मलाई लेखापढी कामको लागि जिम्मेवारी दिइएको थियो। गुठी संस्थान शाखा कार्यालय, भक्तपुरबाट निर्णय भै आएपश्चात् कागजात मालपोत कार्यालय, भक्तपुरमा पेश गरेको थिए। सो निर्णय मिसिल भक्तपुर जिल्लास्थित गुण्डु गा.बि.स.को भएकोले उक्त गा.बि.स.को फाँट हेर्ने कर्मचारीले जग्गाको कामकारवाही अगाडि बढाउन ४/५ लाख लिएमा काम सकाइदिन्छु भनेकोमा निवेदक आरती थापालाई समेत नगद ल्याउनु भनेका थिए। निज कर्मचारीले आरती थापा र मलाई पटक-पटक पाँच लाख ल्याउ काम सकाइदिन्छु भनेपछि अन्तिममा रु.४,००,०००।– (चारलाख रुपैयाँ) नगद लिने दिने सहमती भएको हो। जस अनुसार नायब सुब्बा ऋषिराम बुढाथोकीले रु.३,००,०००।– (तीनलाख रुपैयाँ) र कार्यालय सहयोगी केशबबहादुर खत्रीले रु.१,००,०००।- (एकलाख रुपैयाँ) लिएको हो। बरामद मुचुल्कामा भएको सहिछाप मेरो हो भन्ने समेत बेहोराको बिष्णुहरी न्हितुसुको बयान कागज।
अख्तियारबाट खटिगएको टोलीले मैले संचालन गरेको सुवर्ण भोजनालयमा मुचुल्का तयार गरेको हो। नायब सुब्बा ऋषिराम बुढाथोकी र कार्यालय सहयोगी केशबबहादुर खत्रीबाट रकम बरामद भएको बेहोरा ठीक साँचो हो। बरामदी मुचल्कामा गरिएको सहिछाप मरो हो। हेरी चिनी सनाखत गरिदिए भन्ने समेत बेहोराको बटुकृष्ण खतिवडाको कागज।
बरामदी मुचल्कामा गरिएको सहिछाप मरो हो, हेरी चिनी सनाखत गरिदिए, बरामदी मुचुल्कामा उल्लेख भए बमोजिमको रकम बरामद भएको बेहोरा ठीक साँचो हो भन्ने समेत बेहोराको कमल प्रसाद तिमिल्सिनाको कागज।
मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी र कार्यालय सहयोगी केशबबहादुर खत्रीले लेखापढी व्यवसायी बिष्णुहरि न्हितुसुसंग मिलोमतो गरी उजुरी निवेदकसँग रु.४,००,०००।– (चारलाख रुपैयाँ) घुस/रिसवत माग गरी लिन मञ्जुर गरी उक्त घुस/रिसवत रकम मध्ये नायब सुब्बा ऋषिराम बुढाथोकीले रु.३,००,००० (तीनलाख रुपैयाँ) र कार्यालय सहयोगी केशबबहादुर खत्रीले रु.१,००,०००।– (एकलाख रुपैयाँ) निज लेखापढी व्यवसायी बिष्णुहरि न्हितुसु मार्फत लिने कार्य गरी मिति २०७३।११।११ गते १९.०० बजे भक्तपुर नगरपालिका वडा न. १ स्थित मालपोत कार्यालय, भक्तपुर नजिकै रहेको सुबर्ण भोजनालयमा उक्त घुस/रिसवत बापत रकममध्ये नायब सुब्बा ऋषिराम बुढाथोकीको साथबाट रु. ३,००,००० (तीनलाख रुपैयाँ ) र कार्यालय सहयोगी केशबबहादुर खत्रीको साथबाट रु.१,००,०००।– (एकलाख रुपैयाँ) बरामद भएको पुष्टि हुन आई मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी र कार्यालय सहयोगी केशबबहादुर खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम र लेखापढी व्यवसायी बिष्णुहरि न्हितुसुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसूर गरेको देखिएकोले निज राष्ट्रसेबक नायब सुब्बा ऋषिराम बुढाथोकीलाई रु.३,००,००० (तीनलाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम, राष्ट्रसेबक कार्यालय सहयोगी केशबबहादुर खत्रीलाई रु.१,००,०००।– (एकलाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) को देहाय (ग) बमोजिम र लेखापढी व्यवसायी बिष्णुहरि न्हितुसुले राष्ट्रसेवक कर्मचारीहरुलाई रु.४,००,०००।– (चारलाख रुपैयाँ) घुस/रिसवत उपलब्ध गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) (घ)को कसुर अपराध गर्नमा मतियारको भूमिका निर्बाह गरेको पुष्टि हुनआएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी र उजुरी निवेदकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल,काठमाण्डौंमा लिखित उजुरी दिई घुस/रिसवत दिनका लागि रकम बुझिलिएको देखिँदा निज नायब सुब्बा ऋषिराम बुढाथोकीबाट बरामद भएको रु.३,००,०००।– (तीनलाख रुपैयाँ) र कार्यालय सहयोगीबाट बरामद भएको रु.१,००,०००।- (एकलाख रुपैयाँ) समेतको जोड जम्मा हुन आउने रु.४,००,०००।– (चारलाख रुपैयाँ) दसीको रुपमा पेश गरिएको छ। उक्त रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल, काठमाडौंलाई फिर्ता पाउन माग गर्दै पेश भएको आरोपपत्र।
मिति २०७३।११।११ गते म आफ्नै अफिस नेवा कानूनी सेवा केन्द्रमा लेखापढी गरी बसेको थिएँ। त्यही समयमा खडकबहादुर खड्का र उजुरीकर्ता आरती थापा आई मेरो लेखापढीको काम छ। गरिदिनुपर्यो भन्नुभयो। मैले लेखापढीको कार्य गरिदिएको हो। घुस रिसवत लिनेदिने कार्यमा मेरो कुनै संलग्नता छैन। मेरो साथबाट कुनै रकम बरामद भएको छैन। मैले उजुरकर्ता र ऋषिराम बुढाथोकी समेत बीच चिनजानसम्म गराई दिएको हो। पैसा उजुरीकर्ता आरती थापाले नै दिएकी हुन्। मैले उक्त पैसा छोएको पनि छैन। मलाई संकाको भरमा प्रतिवादी बनाइएकले प्रस्तुत मुद्दामा सफाइ पाउनु पर्छ भन्ने समेत बेहोराको मिति २०७३।११।२२ गरेको प्रतिवादी बिष्णुहरि न्हिसुनुले अदालत समक्षको बयान।
म कुनै काम गर्नको लागि अधिकारप्राप्त अधिकारी होईन। कार्यालयमा हाजिर बाहेक अन्य ठाउँमा मेरो सही चल्दैन। मेरो कार्य कार्यालय परिषरको सरसफाई गर्ने हो। कार्यालयको अन्य कार्यमा मेरो कुनै संलग्नता नहुने भएकाले उजुरीमा उल्लिखित कुनै काम गरेको हैन। उक्त दिन मलाई साँझ ७ बजेतिर कार्यालय प्रमुख कमलप्रसाद तिमिल्सेनाले कार्यालयमा बोलाएर गएको थिए। कार्यालयमा हाकिमसाब नभएपछि मैले निजलाई फोन गरेँ। निजले म कार्यालय अगाडिको बटुकृष्णको होटलमा छु यही आउ भनेपश्चात् मैले फोन राख्न नपाउँदै ४/५ जना अपरिचित मानिस आई मलाई घुस खाएको पैसा कहाँ राखिस निकाल भनी कुटपीट गरी मेरो खल्तिमा पैसा राखी मालपोत कार्यालयको अगाडि रहेको बटुकृष्णको होटल लगेका हुन्। त्यहाँ कार्यालय प्रमुख कमलप्रसाद तिमिल्सेना, ऋषिराम बुढाथोकी लगायत अख्तियारका मानिस थिए। मेरो खल्तिमा जबरजस्ती राखेको पैसा समेत बरामद गरेका हुन्। अनुसन्धान अधिकारी समक्षको बयानको बेहोरामा मलाई जबरजस्ती सहीछाप गराएका हुन्। मैले आरोप पत्रमा उल्लेख भए बमोजिमको कसूर नगरेकोले सफाइ पाउँ भन्ने समेत बेहोराको प्रतिवादी केशबबहादुर खत्रीले अदालत समक्ष गरेको मिति २०७३।११।२३ को बयान।
उजुरीकर्ताले उजुरीमा लेखाएजस्तो कार्य मैले गरेको हैन। २०७३ साल फल्गुन ११ गते १० बजे अफिसमा हजिर भै आफ्नो नियमित काम गर्दै थिएँ। उजुरकर्ता मिति २०७३।११।०९ गते पेश भएको गुठीको नामसारी निर्णय तथा श्रेस्ता कायम गरी गुठीलाई जानकारी पठाउने कार्यको लागि कार्यालय प्रमुखबाट टिप्पणी सदर भै मोठमा मिसिल पठाएको थिएँ। सो दिन भूकम्प पीडितको जग्गा दर्ता सम्बन्धी कामले साढे छ बजिसकेको थियो। मलाई भोक लागी खाजा खान सुवर्ण भोजनालयमा जाँदा त्यहाँ अख्तियार समेतको टोलीले मलाई नियन्त्रणमा लिई जबरजस्ती रुपमा ब्यागमा पैसा राख्न पठाई पढ्न पनि नदिई मुचुल्का उठाई पक्राउ गरेको हो। मुचुल्कामा भएका सहिछाप मेरै हुन्। मैले आपोपत्रमा उल्लेख भएको कसूर गरेको छैन। सफाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ऋषिराम बुढाथोकीले अदालत समक्ष गरेको बयान।