२३३२०७ - फौजदारी

Registration Number
०७८-CR-०२६०
Decision Date
2079-07-22
Registration Date
2078-05-01
Bench
सुष्मलता माथेमा, मनोज कुमार शर्मा
Plaintiff
सिताराम तिमल्सिना
Defendant
तुलसी महर्जन र ज्ञानीकुमारी महर्जन

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मुद्दा नं.०७८-CR-०२६० मुद्दा : जालसाजी। जगन्‍नाथको नाति, नरहरीको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १३ बस्ने सिताराम तिमल्सिना -----------------------------------------1 विरुद्ध मानसिंहको नाति, काजिमानको छोरा, काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १ बस्ने तुलसी महर्जन -----------------------------------------------------1 ऐ. को बुहारी, विधान महर्जनको पत्‍नी, ऐ.ऐ. बस्ने ज्ञानी कुमारी महर्जन ----------१ शुरु तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी काठमाडौं जिल्ला अदालत। फैसला मितिः २०६५।०१।२० पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दुर्गा प्रसाद उप्रेती माननीय न्यायाधीश श्री जनार्दन बहादुर खड्का उच्च अदालत पाटन फैसला मितिः २०६५।११।११ न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य-खण्ड का.जि., साविक लायकु गा.वि.स. वडा नं. ६/ख, कि.नं. ६६ को हाल किर्तिपुर न.पा. वडा नं. २ अन्तर्गत पर्ने रामभक्तेश्वर गुठीको म मोही भएको जग्गा रोपनी ०-६-० जग्गा दर्ता भई मैले पूर्जा पाएको ७ दिनभित्र तपाईँलाई पारित गरिदिने छु भनी जग्गाको मूल्य रू.३,७५,०००।- मध्ये बैना वापत रू.१,०६,०००।- बुझी प्रतिवादी तुल्सी महर्जनले मसँग मिति २०६२।०१।१८ मा करारनामाको लिखत गरी दिएकोमा जग्गाको पूर्जा पाएपछि जग्गा मलाई पारित गरी नदिई प्रतिवादी ज्ञानी कुमारी महर्जनलाई मिति २०६२।१०।०६ मा हालैको बकसपत्रबाट पारित गरी दिई प्रतिवादी तुल्सी महर्जनले करार उल्लंघन गरेको कुरा मालपोत कार्यालय, काठमाडौंबाट मिति २०६४।०३।१९ मा नक्कल सारी लिँदा थाहा पाएकोले करार बमोजिम जग्गा पारित गराई पाऊँ भनी प्रतिवादीहरु उपर आजै यसै अदालतमा दिएको मुद्दाबाट इन्साफ पाउने नै हुँदा मलाई पारित गरिदिनेछु भनी करार गरी दिएको जग्गा प्रतिवादीहरुको मिलेमतोमा प्रतिवादी तुल्सी महर्जनले प्रतिवादी ज्ञानीकुमारी महर्जनलाई हालैको बकसपत्र पारित गरी म फिरादीले मिति २०६२।०१।१८ को करार बमोजिम पारित गराई लिन पाउने मेरो हक रहेको उपरोक्त जग्गाबाट मेरो हक मेटाउन विपक्षीहरुले किर्ते कागजको महलको १ र ३ नं. विपरित का.जि., साविक लायकु गा.वि.स. वडा नं. ६/ख कि.नं.६६ को क्षेत्रफल ०-६-० को हाल किर्तिपुर न.पा. वडा नं. २ कि.नं. ६३ को २०५.६० वर्ग मिटर जग्गा मालपोत कार्यालय कलंकीबाट मिति २०६२।१०।०६ मा र.नं. ७०६ख बाट पारित गराई विपक्षीहरुले एक आपसमा लिनु दिनु गरेकोले उक्त मितिको पारित हा.ब. लिखत किर्ते कागजको ३ नं. बमोजिम जालसाजी घोषित गरी विपक्षीहरुलाई सजाय गरी पाऊँ भन्नेसमेत बेहोराको सिताराम तिमल्सिनाले सुरु काठमाण्डौँ जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्र। विपक्षी वादी म तुल्सी महर्जनको चिनजानका मानिस भएकाले अड्डा अदालतमा परी आएको काम कारबाहीका विषयमा निजसँग सहयोग लिने गरेको हुनाले मसँग लिएको कुनै कागजको दुरुपयोग गरी मलाई झुक्याई कुनै कागज गराएको हुनुपर्छ। त्यसरी झुक्याई गरेको कागजको कुनै कानूनी औचित्य हुँदैन। करार ऐन, २०५६ को दफा ४० मा अचल सम्पत्ति बिक्री व्यवहार हुने गरी करार हुन नसक्ने कानूनी व्यवस्था रहेको अवस्थामा मेरो अचल सम्पत्ति वादीलाई बिक्री गर्ने गरी कुनै करारको लिखत हुन नसक्ने भएकोले प्रथम दृष्टिमै फिराद दावी खारेजभागी छ। काठमाडौं गुठी संस्थान तहसिल कार्यालयबाट रामभक्तेश्वर गुठीका नाममा दर्ता भई म तुल्सी महर्जनका नाममा मोही कायम गरी दिएको गुठीमा लाग्ने दस्तुर बुझाई मैले जहिले पनि रैतानी गर्न सक्ने आफुखुस गर्न पाउने जग्गामा यी वादी मेरो अंशियार पनि नभएको र यो यस्तो किसिमले मेरो निर्विवाद हक भएको भन्न वादीले नसकेको यस अवस्थामा मात्र कथित करारनामा लिखतको आधारमा हक भएको भनी हकदैया नै नभएका वादीले उक्त बकसपत्रको लिखत जालसाजी घोषित गरी पाऊँ भनी गरेको फिराद खारेज गरी पाऊँ भन्नेसमेत बेहोराको प्रतिवादीहरु तुलसी महर्जन र ज्ञानी कुमारी महर्जनको संयुक्त प्रतिउत्तर जिकिर। दे.नं. ३५०८ को मुद्दामा सो लिखत बदर नहुने ठहरी आज यसै इजलासबाट निर्णय भएको र आफ्नो नाउँमा दर्ता श्रेस्ता कायम भएको जग्गा बकसपत्र गरी लिने दिने भएको कार्यले यी वादीको हकमा कुनै प्रतिकुल असर परेको अवस्था विद्यमान रहेको नदेखिंदा सो लिने दिने गरी गरेको लिखत जालसाजी घोषित गरी पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत बेहोराको काठमाण्डौं जिल्ला अदालतको मिति २०६५।०१।२० को फैसला।