३०९८२१ - रिट निवेदन
- Registration Number
- ०८१-WO-०२२५
- Decision Date
- 2081-07-02
- Registration Date
- 2081-05-16
- Bench
- हरि प्रसाद फुयाल, सुनिल कुमार पोखरेल
- Plaintiff
- अधिवक्ता सागर देव गिरी
- Defendant
- श्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार काठमाडौ , श्री बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध र श्री बौद्धनाथ क्षेत्र विकास समिति बौद्धका कार्यकारी निर्देशक शान्तीमाया तामाङ
Summary
बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा शान्तिमाया तामाङको नियुक्तिलाई चुनौती दिँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मापदण्ड अनुसार उमेर नपुगेको ठहर गर्दै उनको नियुक्ति बदर गरेको छ।
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश श्री सुनिल कुमार पोखरेल
फैसला
०80-WO-0225
मुद्दाः- उत्प्रेषण परमादेश।
विरुद्ध
नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:-
तथ्य खण्ड
बौद्ध धर्म एवं बौद्ध धर्माबलम्वीहरुको महत्पूर्ण पवित्र स्थलको रुपमा रहेको बौद्धनाथ स्तुपलाई United Nations Educational, Scientific and Cultural Organization ले विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरू मध्ये बौद्ध धर्माबलम्वीहरूको धरोहरको रुपमा रहेको बौद्ध स्तुपा पनि एक हो।नेपाल सरकारले विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी बौद्धनाथ क्षेत्र बिकास समिति (गठन) आदेश, २०५३ मिति २०५४।०२।०६ मा नेपाल राजपत्रमा प्रकाशित गरी जारी गरेको थियो, जसमा बौद्धनाथ क्षेत्रको सिमांकन, पदाधिकारीहरु, बौद्धनाथ क्षेत्र विकास समितिको गठन, समितिका काम, कर्तव्य र अधिकार, समितिको बैठक, कार्यकारी निर्देशक लगायतका कर्मचारीको नियुक्ती प्रक्रिया, उप-समितिको गठन तथा नियम बनाउने अधिकार समेतको व्यवस्था गरेको छ।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ जारी गरी उक्त मापदण्डको अनुसूचीको क्र.सं. २६ मा बौद्धनाथ क्षेत्र विकास समितिलाई पनि समावेश गरेको छ।समितिका बर्तमान कार्यकारी निर्देशक विपक्षी शान्ति माया तामाङलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्रिस्तरको मिति २०७९।१०।२९ को निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको छ।मिति २०८१।०५।०९ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवज्यू लाई सम्बोधन गरी पत्राचार गरिएकोमा हाल सम्म कुनै कार्यान्वयन\निर्णय नगरी अयोग्य व्यक्तिबाट निरन्तर बौद्धनाथ क्षेत्रको काम कारवाही भईरहेको छ।समितिको कार्यकारी निर्देशक पदमा अनुभवी र सम्बन्धित क्षेत्रमा दखल भएको तथा कुनै न कुनै रुपबाट योग्य व्यक्तिको चयन होस् भन्ने हेतुले नै कार्यकारी पदको लागि उमेरको हकमा ३० बर्ष पुरा भई ६५ बर्ष सम्म हुनुपर्नेमा निजले प्राप्त गरेको नेपाली नागरिकता अनुसार निजको जन्म मिति २०५४।११।१५ रहेबाट मिति २०७९।१०।२९ मा नियुक्ती हुँदा निजको उमेर २५ बर्ष ११ महिना १४ दिन मात्र हुने हुँदा कानून विपरित शान्ती माया तामाङलाई समितिको कार्यकारी निर्देशकमा नियुक्ती गरेको विपक्षी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मा.मन्त्रिस्तरीय मिति २०७९।१०।२९ को निर्णय र मिति २०७९।१०।२९ च.नं. ६७९ को पत्र उत्प्रेषणको आदेशले निर्णय बदर गरी पाऊँ भन्नेसमेत व्यहोराको निवेदक अधिवक्ता सागर देव गिरीले यस अदालतमा दायर गरेको निवेदन पत्र।
यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खूलाई यो आदेश प्राप्त भएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र विपक्षी नं.१ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत तथा विपक्षी नं.२ र ३ ले आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु।निवेदकहरुले अन्तरिम आदेशसमेतको माग गरेको सन्दर्भमा विचार गर्दा, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिंदा अन्तरिम आदेश छलफल प्रयोजनार्थ पेशी तोकी सोको सूचना विपक्षीहरुलाई दिई नियमानुसार गर्नू भन्नेसमेत व्यहोरको मिति 2081।05।17 मा यस अदालतबाट भएको आदेश।
बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न बौद्धनाथ क्षेत्र विकास समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न नेपाल सरकारले कार्यकारी निर्देशकको नियुक्ति गर्न सक्ने कानूनी व्यवस्था अनुसार चार वर्षको पदावधि रहने गरी मिति २०७९।१०।२९ को माननीय मन्त्रीस्तरीय निर्णयानुसार श्री शान्ती माया तामाङलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति गरिएको कार्यले यि निवेदकलाई नेपालको संविधान तथा प्रचलित नेपाल कानुनले प्रदत्त गरेको कुनै पनि संवैधानिक तथा कानुनी हक अधिकार हनन हुन गएको अवस्था नहुँदा रिट निवेदन दावी प्रथम दृष्टिमै खारेजभागी हुँदा खारेज गरी पाऊँ।बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ मा भएको व्यवस्था अनुसार बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको पदमा नियुक्ति हुन ३० वर्ष उमेर पुरा भएको हुन पर्ने भन्ने कहि कतै उल्लेख भएको अवस्था समेत नहुँदा निज शान्ती माया तामाङलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति गरिएको हुँदा शान्ती माया तामाङलाई पदमुक्त गरी विपक्षी शान्ती माया तामाङलाई बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको पदमा बहाल रहि कुनैपनि काम कारवाही नगर्नु नगराउनु तथा तलब भत्ता तथा सेवा सुविधा समेत नदिनु नदिलाउनु भनि विपक्षीले दायर गरेको रिट निवेदनदावी खारेजभागी हुँदा खारेज गरी पाउँ भन्नेसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट पेश हुन आएको लिखितजवाफ।