6700 - रिट निवेदन
- Registration Number
- 6102
- Decision Date
- 2052-11-02
- Registration Date
- 2052-11-02
- Bench
- गोविन्दबहादुर श्रेष्ठ
Judgment
निर्णय नं. ६१०२ ने.का.प. २०५२ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४९ सालको रिट नं. २९८०
आदेश मिति : २०५२।११।२।४
विषय : उत्प्रेषण ।
निवेदक : कञ्चनपुर जिल्ला महेन्द्रनगर न.पा. वडा नं. ४ महेन्द्रनगर बजार बस्ने पाण्डे आयल स्टोरको प्रो.विष्णुदत्त पाण्डे
विरुद्ध
विपक्षी : अध्यक्ष, महेन्द्रनगर विकास समिति महेन्द्रनगरबजार ।
महेन्द्रनगर विकास समिति मुकाम समिति महेन्द्रनगर बजार ।
श्री सदस्य सचिव महेन्द्रनगर नगर विकास समिति मुकाम महेन्दनगर बजार ।
§ पेट्रोलियम पदार्थ राखे नराखेको तथ्य सम्बन्धी विवादको विषयलाई सबूद प्रमाणको मूल्यांकन गरी विवादको निरोपण गर्ने कार्य रिट क्षेत्रबाट गर्न नमिल्ने ।
(प्रकरण नं. ११)
§ हकको प्रमाण भनेको जग्गाधनी प्रमाण पुर्जा हो ।
(प्रकरण नं. ११)
§ शर्तको दायित्व पूरा गर्नु पर्ने विषयमा एक पक्षले दायित्व पूरा नगरेकोमा उपचारको बाटो छंदाछंदै असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिटनिवेदन आएकोले खारेज हुने।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
अवलम्बित नजीर : x
आदेश
न्या. गोविन्द बहादुर श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको टिपोट र ठहर यस प्रकार छ :–
२. महेन्द्रनगर नगर विकास समितिको मिति २०३२।६।१ को बैठकको निर्णयानुसार पाण्डे आयल स्टोरर्ला इन्धन पदार्थ उपयोगको लागि १० कठ्ठा जग्गा बहालमा दिएकोमा प्रति कठ्ठा रु. ३,०००।– मूल्य लिई जग्गा दिने भनी निर्णय भएको र सोही निर्णयको आरधामा मिति ०३३।८।११ को बैठकले जग्गाको मूल्य माग गरिएकोमा म निवेदकले ०३६।३।६ मा रु. २०,०००।–, २०४६।३।७ मा रु. १०,०००।– समेत जम्मा रु. ३०,०००।– जम्मा गरी रसिद समेत प्राप्त गरी भोग गरी आएको छु । उक्त महेन्द्रनगर नगरपञ्चायत वडा नं. ४ को कि.नं. १३२१ को ०–१०–० जग्गामा पेट्रोल पम्प राखेको कारणले सो को सुरक्षा गर्न उक्त जग्गामा ४ वटा पक्की घर २ वटा कच्ची घर बनाई आएको छु । महेन्द्रनगर नगर विकास समितिले ०४९।८।८ मा लेखेको पत्रमा प्रति वर्ग फुट रु. २०।– का दरले मूल्य लिई ०–५–० कठ्ठा जग्गा मात्र र पेट्रोलपम्प नराखे निजले बुझाएको मूल्य फिर्ता दिने समितिको स्वामित्वमा लिने भन्ने समेत उल्लेख गरिएको छ। उक्त निर्णय समेतका पत्रबाट मेरो संविधान प्रदत्त हकमा आघात परेको हुँदा निवेदन गर्न आएको छु ।
३. विपक्षी नगर विकास समितिको एक पटक रु. ३०,०००।– लिई १० कठ्ठा दिएको जग्गालाई पुनः ५ कठ्ठा जग्गा दिने र प्रति वर्ग फुटको रु. २०।– लिने भनी भन्न मिल्दैन । महेन्द्रनगर नगर निर्माण योजना कार्यान्वयन समितिले २०३३।८।११ मा बसेको बैठकले यस समितिको २०३६।६।१ को बैठकको निर्णयानुसार पाण्डे आयल स्टोरलाई इन्धन पदार्थ राख्न उपयोग गर्ने कार्य बाहेक अन्य कार्यको लागि उपयोग गर्न नपाइने र सो कार्य गर्न छाडेमा समितिले परल मोल फिर्ता दिई जग्गा फिर्ता लिने शर्त राखी प्रति कठ्ठा रु. ३०,०००।– मूल्य लिई जग्गा निजलाई दिने भनी प्रष्ट उल्लेख गरिएको छ । उक्त निर्णयलाई प्रतिकूल असर पर्ने गरी जग्गाको क्षेत्रफल घटाउन र मूल्य बढाउन सक्ने अधिकार विपक्षीलाई छैन । प्रति वर्गफुटको रु. २०।– ले हिसाब गदा प्रति कठ्ठा रु. ७२,९००।– गरिएको छ । उक्त जग्गा मैले रु. ३,०००।– प्रति कठ्ठामा पाउने निर्णय गरी रकम जम्मा गरेको छु । मैले पेट्रोल पम्प नचलाएको भन्न मिल्दैन । मैले पेट्रोल पम्प चलाएको छु ।