8002 - देवानी

Registration Number
652
Decision Date
2028-08-14
Registration Date
2028-08-14

Summary

यस मुद्दामा अंशबण्डाको लिखत दर्ता पास नभए पनि सम्पूर्ण अंशियारहरूको मञ्जुरीमा बण्डापत्र भई सोही बमोजिम सबैले आ-आफ्नो भागको सम्पत्ति नामसारी, दर्ता, भोगचलन, बिक्री, बन्धक जस्ता व्यवहारहरू गरिसकेको अवस्थामा, केवल लिखत दर्ता नभएको कारणले मात्र पहिले भएको बण्डालाई बदर गरी पुनः अंशबण्डा गर्न नमिल्ने भन्ने सिद्धान्त प्रतिपादन भएको छ। अदालतले इन्द्रगोपाल श्रेष्ठ विरुद्ध कैलाश श्रेष्ठ समेत र अकलबहादुर खड्का विरुद्ध गणेशबहादुर खड्का जस्ता नजिरहरूलाई आधार मान्दै, लामो समयदेखि भोगचलन भई व्यवहारमा आइसकेको बण्डालाई बदर गर्दा सर्वसाधारणको व्यवहारमा समेत असर पर्ने हुँदा वादीको दाबी नपुग्ने ठहर गरेको छ।

Judgment

निर्णय नं. ६५२                 ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२६ सालको देवानी फुल बेञ्च नम्बर ८० आदेश भएको मिति : २०२८।८।१४।३ पुनरावेदक : का.जि.सेतोदरवार बस्ने देबेन्द्रसम्शेर ज.व.राणा विरुद्ध विपक्षी : ऐ ऐ बस्ने ज.लिला सम्शेर ज.व.राणा विषय : अंश (१)   बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने । यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठ समेतको अंश मुद्दामा ०१०।११।२७।४ को फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता भोग तिरो बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्न मुनासिव नपर्ने भन्ने र दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट बण्डापत्र लिखत नभएको भनी पुनःबण्डा गरिदिने गर्दा पहिले दुवै पक्षको मन्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धकी लिनुदिनु समेत भए गरेको व्यवहारमा असर पुग्न जाने हुँदा वादी दावीबमोजिम बण्डा गरिदिनु पर्ने भन्न नमिल्ने भन्ने र दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पाण्डेनी समेतको अंश मुद्दामा ०२८।१।७।३।को फुल बेञ्चबाट ८४ सालमै छुट्टि भिन्न भई अंशबण्डा गरी वादीले आफ्नो अंश भाग लिइसकेको बण्डापत्र लिखत पेश नभएकोसम्म कारणले बण्डा नभएको कायम मान्न नमिल्ने भन्ने तर्क गर्न धेरै वर्ष अघि बण्डा भई दर्ता भोग तिरोसमेत गरी आएको दुनियाँको व्यवहारमा असर पुग्न जाने र बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने भन्ने ठहर निर्णय भइराखेकोसमेत पाइन्छ । प्रस्तुत मुद्दामा ०९।१।२९ मा वादी प्रतिवादीसमेत सबै अंशियारको मन्जुरीले बण्डापत्र गरी आ–आफ्नो बण्डाको जग्गा आ–आफ्नो नाममा दर्ता गराई भोगतिरो बिक्री व्यवहारसमेत गर्दै आएको र वादीले यता अंश मुद्दा दायर गर्दै गर्ने र उता आफ्ना नाममा बण्डापत्रको मिति पछि दर्ता दाखेल गराएको जग्गा धमाधम बिक्री गर्दै गरेकोबाट वादीले आफ्नो नाममा दर्ता दाखेल गरेको जग्गा बिक्री गरिसकी अरू अंशियारका नाममा दर्ता दाखेल भएको जग्गा हातपार्ने र अघि अंशबण्डा लिनेमध्येकी भक्तीदेवी परलोक हुनुभइसकेको हुनाले १ अंशियार घट्न गएकोबाट अब बण्डा हुँदा बढी सम्पत्ति पाउँला भन्ने नियत लिई नालिस गरेको समेत देखियो । (प्रकरण नं. २०) पुनरावेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे । प्रतिवादी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा । उल्लिखित मुद्दा :      फैसला न्यायाधीश श्री झपट सिंह रावल १.     मे.ज.लीला सम्शेरको ३ स्वास्नीमा जेठी विवाहिता रानी भक्तिदेवी राणातर्फको छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर ज.व.रा.र माहिली अनारदेवीतर्फबाट सन्तानै नभएको कान्छी मेरो मुमा शर्मादेवीतर्फबाट म देवेन्द्र सम्शेर ज.वा.रा.१ छोरा मात्र जायजन्म भएको सौतेनी घर भई घरमा शान्ति हुने नभई बराबर कलह झगडा मात्र हुने हुँदा जेठी मुमा भक्तिदेवी र उहाँको छोरा चूडाराज सम्शेर समेत ०९ साल वैशाखदेखि मानु छुट्टि भिन्न बस्नुभएको हुँदा ठूलो मुमा छुट्टिने अवस्था नगद गहनाको एउटा बण्डामा लाग्ने भागसम्म छुट्याई लिई हाम्रो भाग पनि देखाएको भए पनि लिए दिएको नभई बुबाकै साथमा माहिली मुमा अनारदेवी कान्छी मेरो मुमा शर्मादेवी म सगोलैमा रहे बसेको हुँदा बाँडिलिन बाँकी सगोलैमा रही आएको थियो, रजिष्ट्रेशनका ३ र ३ (क) अनुसार बण्डा र मानो छुट्टिएको लिखत समेत कुनै कानूनबमोजिम पास गरी लिनु दिनु नभएको र वण्डा लिनु दिनु पर्ने चल अचल गैह्रको तायदाती फाँट खोली बण्डापत्र समेत भएको छैन । मेरो विश्वज्योति हलमा मेनेजरी काम गर्ने माधवलालको शिकायत कुरा सुनी ०१६ साल वैशाख १५ गतेका दिन थुनी करकापबाट बुवा मुमाहरूले कागज गराउनु भएतर्फ म्यादै भित्रै मैले नालिस दिएको मुद्दा दायरै छ । त्यस दिनदेखि चित्त नमिली ०१६।१।१६ देखि भिन्न बसेको छु । इज्जत आमदअनुसार अंशबण्डाको २८ नं बमोजिम बुबाज्यूबाट बक्सनु पर्ने थियो, रीतपूर्वक बुबाको गाथ छँदै बण्डा छुट्याइ राख्ने श्रेयदेखी नालिस दिन आएको छु, म मानो छुट्टि भिन्न बसेको मिति ०१६।१।१६ का अघिल्ला मिति तकको बुबाज्यू मे.ज.लीलासम्शेर ज.व.रा.बाट चल अचल श्री सम्पत्ति गैह्रको तायदाति फाँट लिई बुवा १ जेठी मुमा भक्तिदेवी १ उहाँको छोरा चुडाराज सम्शेर १ जना ३ को पुरा भाग र महिली मुमा अनारदेवी १ मेरी मुमा शर्मादेवी १ म देवेन्द्र सम्शेर १ जना ३ को खण्डे भागसमेत अड्डैबाट रीतपूर्वकको अंश बण्डाको २ नं.बमोजिम छुट्याई मैले पाउने १ बण्डा दिलाई पाउँ भन्नेसमेत ०१७।९।२२ को वादी । २.    वादी देवेन्द्र सम्शेर छोरा हो निजको आमा शर्मादेवी समेतसँग सगोलमै बसी ०९।१।२९।१ मा जेठा छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर निजको आमा भक्तिदेवी र मसमेत ३ को पुरा अंश र वादी देवेन्द्र सम्शेर र निजको आमा शर्मादेवी र अनारदेवी समेतको खण्डे अंशवण्डा गरी छुट्याई बेग्लै बसी उसै बखत बण्डापत्र खडा गरी बाँडी लिए दिएको सोही बण्डाको आधारमा आफू–आफूले भोग चलन गरी आएको वादीले अंशबण्डा गर्दा घरदरवारको मोल कसी नगदी लिएको बस्ने बन्दोवस्त मिली नसक्दा मेरा भागको घरमा पश्चिमपट्टिको खण्डमा बस्न दिएको सो मलाई नै चाहिएकोले खाली गरी देउ भन्दा नमानेकोले निजलाई सो घरबाट उठाई पाउँ भनी मैले दर्खास्त गरेकोबाट रिसाई झट्टा उजुर गरेको छ । वादीले म समेतका नाउँमा करकापसँग थुनी कागज गरायो भन्ने मुद्दामा भने ठूली मुमाले सहीछाप गर्नलाई भन्नु हुँदा मैले सही गर्नुपर्ने कारण छैन भिन्न भई छुट्टै बसेको छोराको मन्जुरी चाहिने छैन भन्ने इत्यादि लेखनबाट स्वयम् वादी ०१६।१।१६ भन्दा अघि नै छुट्टि भिन्न बसेको प्रष्ट देखिंदा हालको वादी दावा झुठ्ठा छ । ठूलो हीरा बिक्री भई आएको मोल वादीले आफ्नो भाग ०१४।४।२४ मा भा रु.९५५९। र २९।७।१९५७ मा भा.रु.७८५३६।३१ समेत गरी दुई पटक गरी जम्मा रु.८८०९५।३१ बुझी गरिदिएको भरपाई मसँग छ जेठा छोरा भू.पु.मन्त्री चुडाराज सम्शेरले आफ्नो अंश भागको जग्गा माधव सम्शेरलाई फार्छे लेखिदिंदा मसमेत वादीले पनि साक्षी बसी लिखत भएको र आफ्नो भागमा परेको जग्गामा सिनेमा हल राख्न नगरपालिकाबाट नक्सा पास गराई सो जग्गा वादीले ०१७।९।५।२ मा माल दोस्राबाट आफ्नो नाउँमा दर्ता गरेको मौजुद छ ०९ साल असोजमा विश्वज्योति सिनेमा हल चलाउन मबाट रु.११४००। को शेयर वापत लिएको भनी जनाई भरपाई गरी दिएकोबाट पनि अंश बण्डा गर्दा जग्गा जमीन छुट्याई आफ्नो भोग चलन गरेको भए सो घरवापत भनी लिएको जनाई रहनु पर्ने थिएन, ०९ साल वैशाख २९ गतेका बण्डापत्रबमोजिम गोश्वारा बाहेक अरू अंश बण्डा बाँकी छ भन्ने र सो रकममा पनि पुगेन भन्नेसमेत कौनै कुराको उजुर गर्ने छैन भनी मन्जुर गरी वण्डा लिइसकेको हुँदा वादीलाई अंश दिनु नपर्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत  प्रतिवादी । ३.    ०९।१।२९ को बण्डापत्र १,०१४।४।२४ को हीरा मोल बुझेको भरपाई १, अंग्रेजी हरफको २९।७।५७ को कागजसमेत ३ थानमा बण्डापत्र ऐनको रीत पुगी रजिष्ट्रेशनका ३।३ क, ७ नं.अंश बण्डाको ३९।४६ नं.को रीत नपुगेकोले जवाफदेही गर्नुपर्ने होइन कागजको हकमा दाजु चुडाराज सम्शेरसँग मानो छुट्टि भिन्न बस्नु भयो उक्त कागज थान ३ कानूनले मान्यता दिन नहुने मेरो सहि परे पनि खेश्रा सरहको कागज हो भन्नेसमेत देवेन्द्र सम्शेरको वा.माधवप्रसादको बयान । ४.    अंश वण्डाको ४९ नं.ले चल जतिलाई घरसारमा भएको कागज मान्यता हुने र यस मुद्दामा पेश भएको बण्डापत्र सही परेको हो भनी वादी आफै सावित हुनाले जानी बुझी सहीछाप गरेको अ.बं.३४ नं.ले सदर हुन जाने कागजलाई खेश्रा सरहको भन्ने वादीको भनाई मनासिव नहुने र वादीले माल दोस्रामा बिर्ता जग्गा दर्ता गरेको र आयस्ता पनि आफ्नो भाग तहसिलबाट बुझेको देखिएको सिनेमा हलको जग्गा पनि दर्ता भोग चलन गरेको ०९।६।१४ गते बुवा लीला सम्शेरसँग विश्वज्योती सिनेमा हलमा शेयर राख्न भनी सुन तोला १०० को भाउ कसी रु.११४००। लिएकोले पनि वेग्लै रहेछन् भन्ने बुझिएको ठूलो हीरा बिक्री भई आएको तिमीहरूको भागमध्ये नोट भा.रु.९५५९। भनी दिएको दावी र वादीकी आमा शर्मादेवी समेतले लिएको रु.७८५३६।३१ समेत पनि बुझी लिएका सो कागज पनि सद्दे नै भएकोले बण्डापत्र बुझेको पास नभएको मान्यता हुन सक्तैन कि भन्नालाई ०१६ साल कार्तिकमा प्रकाशित कानून पत्रिका भाग २ अंक ९ मा गोपाल श्रेष्ठको र कैलास श्रेष्ठ समेतको अंश मुद्दामा फुल बेञ्चबाट ०१६।६।११ गते भएको फैसलामा घरसारमा बण्डा गरी भोग तिरो गरेकोमा बण्डापत्र सदर हुने गरी फैसला भएको नजीर पनि देखिएको र वादीले पनि घरसारमा भएको बण्डापत्रमा आफ्नो भाग लिए बुझेको भोग व्यवहार गरेको दाखिल खारेज गर्नुपर्ने पनि केही नदेखिएको बिर्ता जग्गा दर्ता गरी भोगी खाई आएको यस्तोमा ९०।१।३ को सनदले पास गर्नु नपरी घरसारमा लिए बुझेको भाग सदर हुने र अ.व. ३४ नं.ले वादीको सहीछाप परेको सदर हुने नै देखिनाले १ पटक अंश बण्डा भई वादीले अंश बुझी लिएको सिद्ध हुनाले अंश पाएको होइन भनी फेरी अंश पाउँ भन्ने वादी दावी पुग्न सक्तैन झुठ्ठा ठहर्छ भन्नेसमेत ०१८।६।१६।२ को काठमाडौं देवानी इलाका अदालतको फैसला । ५.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन । ६.    प्रतिवादीबाट पेश भएको बण्डापत्र हेरेमा अंशियार सबैको बण्डा छुट्याइएको देखिन आएको र सो बण्डा भएपछि वादी सगोलमा बसिआएको अन्य सबूद वादीबाट गुज्रन नआएको हुनाले र उक्त बण्डापत्रबाट वादीलाई अंशमा घटीबढी परिरहेको भन्ने पनि वादीले लेख्नु भएको पाइएन, केवल तत्कालिन मुलुकी ऐन रजिष्ट्रेशनको ३ र ३क. अनुसार बण्डापत्र पास नभएको भन्ने फिरादमा देखाएको छ । बण्डापत्र ऐनबमोजिम पास नभए पनि ठूलो हीरा बिक्रीबाट आएको भाग शान्ति रूपैयाँ वादीले बुझी लिई भरपाई गरिदिएको र अंश बण्डा भएको ८ वर्ष पछिमात्र वादीको फिरादपत्र आएको समेतबाट पुनरावेदन जिकिर मनासिव देखिन आएन । इन्साफ सुरुको मुनासिव ठहर्छ भन्नेसमेत ०२४।८।८।६ को बाग्मती अञ्चल अदालतको फैसला । ७.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।