199 - देवानी
- Registration Number
- 8609
- Decision Date
- 2068-03-20
- Registration Date
- 2068-03-20
- Bench
- खिलराज रेग्मी, कमल नारायण दास
Judgment
ने.का.प.२०६८, अङ्क ५, निर्णय नं. ८६०९
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री कमलनारायण दास
संवत् २०६५ सालको दे.पु.नं. CI–०६७६
फैसला मितिः २०६८।३।२०।२
मुद्दा– हक कायमसमेत ।
पुनरावेदक वादीः जि. काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २४ बस्ने नरनाथ पाण्डेको मु.स. गर्ने रञ्जनराज पाण्डेको मु.स. गर्ने मुरारीराज पाण्डे समेत
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जि. काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने गोकुलप्रसाद पाण्डे समेत
§ जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नापी हुनुभन्दा पहिले कुनै जग्गा कमाउने मोहीले आफूले कमाई आएको जग्गाको जग्गाधनी हो भनी कुनै व्यक्तिलाई देखाई नापीका बखत क्षेत्रीय किताब (फिल्डवुक) समेतमा जग्गाधनीको नाम समेत लेखाएको अवस्थामा मोहीले जग्गाधनी भनी लेखाएको व्यहोरा अन्य कुनै स्वतन्त्र र भरपर्दो प्रमाणबाट खण्डित नभएसम्म सो जग्गाको वास्तविक जग्गाधनी मोहीले देखाएकै व्यक्तिलाई मार्नुपर्ने ।
(प्रकरण नं.४)
§ विर्तावालाले २०४९ साल असार मसान्त अगावै रैकर परिणत गरिपाऊँ भनी दिएको निवेदनमा मालपोत कार्यालयबाट सो बमोजिम रैकर परिणत हुने, नहुने भनी निर्णय गर्न बाँकी रहिरहेको अवस्था देखिएमा विर्तावालाको तर्फबाट परेको त्यस्तो निवेदनलाई नै विर्तावाला निरन्तर कारवाहीमा रहेको मान्नुपर्ने ।
§ जग्गाधनीको हैसियतमा रैकर परिणततर्फ दिएको निवेदनको निर्णय नभई सो निवेदन निरन्तर कारवाही रहिरहेको अवस्थामा जग्गाको मोहीको हैसियतले विर्ता उन्मूलन ऐन, २०१६ को दफा १२क को कानूनी व्यवस्थाबमोजिम दिएको निवेदनबमोजिम स्वतः मोहीको नाममा रैकर परिणत भै दर्ता गर्न नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री युवराज भण्डारी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, श्री रामप्रसाद भण्डारी ‘सम्भव’ विद्वान अधिवक्ताहरू श्री इन्द्र खरेल, श्री लक्ष्मीप्रसाद उप्रेती, श्री हरी उप्रेती, श्री रमनकुमार श्रेष्ठ, श्री माधवकुमार बस्नेत र श्री सुर्दशन थपलिया
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ विर्ता उन्मूलन ऐन, २०१६ को दफा १२क
फैसला
प्र.न्या.खिलराज रेग्मीः पुनरावेदक अदालत पाटनको २०६४।९।२३।२ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट दायर भएको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) का आधारमा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः
पुनरावेदन अदालत पाटनको २०६४।९।२३।२ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट दायर भएको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) का आधारमा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः
भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ४(क) को कि.नं. १६० को क्षे.फ. ०–११–० कित्ता १, ऐ. ऐ. कि.नं. १६१ क्षे.फ. ०–१२–१–० को कित्ता १, ऐ. ऐ. कि.नं. २१७ क्षे.फ. ०–१–३ को कित्ता १ र ऐ.ऐ. कि.नं. २१९ क्षे.फ. ०–९–० को कित्ता १ समेतका जग्गा रैकरमा परिणत गरी दर्ता नामसारी गरी जग्गाधनी पूर्जा समेत पाऊँ भनी मिति २०४१।३।११ मा मालपोत कार्यालय, भक्तपुरमा निवेदन दिई कारवाहीमा रहेकोमा सो निवेदनमा हालसम्म कुनै निर्णय भएको छैन । उक्त जग्गा दर्ता गरिपाऊँ भनी विपक्षी ज्ञानबहादुर, तेजबहादुर र तुल्सीहरिले मिति २०४९।९।५ गते र विपक्षी गोकुलप्रसाद र श्रीरामले पनि उक्त जग्गा दर्ता गरिपाऊँ भनी मिति २०५३।१०।१७ मा निवेदन दिएको रहेछ । त्यसपछि अदालतबाट हक कायम गरी ल्याउनु भनी मालपोत कार्यालय, भक्तपुरले गरेको मिति २०५९।१२।२७ को निर्णयको नक्कल समेत २०६०।३।४ मा सराई लिई उपस्थित भएको छु । विपक्षी गोकुलप्रसाद र श्रीरामले विवादित जग्गालाई २०२१।१०।२६ मा मुना मिश्रको नाउँको कुश माफी विर्ता लगतको पाना नं. २३० मौजे लोहकिन्थली नं. नं. ४७६, ५६१, ५३५, ५३६ र ५४५ बाट भिडाई मुना मिश्रको हकबाट पिता दोरानन्द पाण्डेको नाममा रैकर परिणत भइसकेको लगतबाट भिडने भनी दर्ताको लागि माग गरेको देखिन्छ । उक्त लगतबाट भिडाई पहिले नै विपक्षीमध्येको श्रीराम पाण्डेको आमा अर्थात् दोरानन्दको छोरा पोषणप्रसादको पत्नी तीर्थकुमारी पाण्डेको नाउँमा भक्तपुर, दिव्यश्वरी ४(क) कि.नं. २१८, २२१, २२२, ३७२, ३७४, ३७७, ३७९ समेतका जग्गाहरू मिति २०५३।६।१७ को निर्णयले दर्ता नामसारी भएकोबाट पनि विवादित जग्गामा गोकुलप्रसाद र श्रीरामको कुनै हक नरहेको प्रष्ट छ । विवादित जग्गा साविक मुना मिश्रको कुश विर्ता लगत नं. २१८, १६५, २९३, २९५ को लोकन्थली मौजाको रोपनी ६४। मध्येबाट भिड्ने जग्गा हो । उक्त जग्गा समेतका घर जग्गा मुना मिश्रले हरि सेवकलाई मिति १९७५।११।१९।१ मा अष्टलोह शेषपछिको वकसपत्र गरिदिएकी रहिछन् । सो जग्गा हाम्रो बाजे डोलेश्वरले खरीद गरी लिएको कुरा हरि सेवकको छोरा रामसेवकले मिति १९७९।२।१८ मा गरिदिएको भरपाईबाट प्रष्ट छ । बाजेले खरीद गरी बाजेको हक भएको र निजको परलोक पछि विवादित जग्गा हाम्रो पिता डाकुरनाथको हक भएको भन्ने कुरा २०१६।३।१० मा डाकुरनाथले विर्ता जग्गाको पोता बुझाएको रसिदबाट प्रष्ट भएकोले विवादित जग्गामा हामी फिरादीको हक कायम गरी दर्ता नामसारी गरी हामीहरूको नाउँमा जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु भनी मालपोत कार्यालय, भक्तपुरको नाउँमा पूर्जी समेत पाऊँ भन्ने फिरादपत्र ।
विपक्षी फिरादीहरू नरनाथ पाण्डे र गोविन्द पाण्डेका बुवा डाकुरनाथ पाण्डे १, हामी प्रतिवादीहरूको पिता बाजे दोरानन्द पाण्डे १ र हामी प्रतिवादीहरूका बाजे तथा जिजुबाजे परमानन्द पाण्डेका कान्छा भाइ चैतानन्द पाण्डेकी श्रीमती सोमकुमारी पाण्डे र छोरा बुद्धिप्रकाश पाण्डे १ समेत एकासगोलमा बसी आएकोमा १९९५ सालमा यी काका बुबा, ठूला बुबा तथा बाजे डाकुरनाथ पाण्डे १, दोरानन्द पाण्डे १ तथा बुद्धिप्रकाश पाण्डे १, बज्यै तथा जिजुबज्यै सोमकुमारी पाण्डे १ समेत ४ जनाका बीचमा तीन भाग लगाई अंशबण्डा भएको थियो । उक्त विवादित जग्गा मुना मिश्रसँग हाम्रो मूल पुर्खाले खरीद गरी भोग चलन गरिआएको मनोहरा लोहकीन्थली किनुवा विर्ता भन्ने जनिई कमाउने मोही महलमा मोही बुद्धिमानले कमाएको टारी खेत १।। भन्ने उल्लेख भै हामी प्रतिवादीहरूका पिता तथा बाजे दोरानन्द पाण्डेको अंश भागमा परेको जग्गा हो । उक्त कुरा १९९५ सालको बण्डापत्रबाट समेत प्रष्ट हुन्छ । मुना मिश्रको कुश माफी विर्ताबाट दोरानन्द पाण्डेका नाममा रैकर परिणत भएको साविक लोकन्थली मौजा न.नं. ४७६, ५६१, ५३५, ५३६ र ५४५ बाट भिडाई तीर्थकुमारीको नाममा मिति २०५३।६।१७ गते दिव्यश्वरी ४(क) कि.नं. २१८, २२१, २२२, ३७६, ३७७, ३७८, ३७९ समेतका जग्गा दर्ता गरी सकेको, सोही साविक पोता भिडाई दर्ता गर्न मिल्ने होइन भनी विपक्षी फिरादीले फिराद दावी गरेकोमा उपरोक्त मुना मिश्रको कुश माफी विर्ताबाट दोरानन्द पाण्डेको नाममा रैकर परिणत भएको लोकन्थली मौजाको नं. ४७६ न.नं. ५६१, ५३५, ५३६ र ५४५ समेत गरी जम्मा ५।११।१।१ मा भएकोमा कि.नं. २१८, २२१, २२२, ३७२, ३७४, ३७७, ३३८, ३७९ कायम गरी जम्मा क्षे.फ. २।१२।३।० मात्र दर्ता गरी क्षे.फ. २–१४–२–१ जग्गा दर्ता गर्न बाँकी थियो । तसर्थ उपरोक्त साविक पोता भिडाई दर्ता गरी सकेको हुँदा पुनः सोही साविक लगत भिडाई दर्ता माग गर्न नमिल्ने भन्ने फिरादीहरूको दावी अपूर्ण र असान्दर्भिक भएको हुँदा विपक्षीहरूको फिराद खारेज गरी सोही साविक लगतबाट भिडाउन बाँकी जग्गाबाट विवादित कि.नं. १६०, १६१, २१७, २१९ को जग्गाहरू भिडाई हामी प्रतिवादीहरूको हककायम गरी विपक्षीहरूको फिराद दावी खारेज गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादी गोकुलप्रसाद पाण्डे १ तीर्थकुमारी पाण्डे १, श्रीराम पाण्डे १ समेतको संयुक्त प्रतिउत्तरपत्र ।