१८५२६६ - फौजदारी

Registration Number
०७४-CR-१६०४
Decision Date
2079-02-24
Registration Date
2075-02-28
Bench
हरि प्रसाद फुयाल
Plaintiff
नेपाल सरकार
Defendant
रामजिनिस राउत वरै , पूर्णवहादुर के।सी। , शंकरप्रसाद आचार्य र दल्तीदेवी राय

Summary

वीरगंज चिनी कारखानाको नामबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा दर्ता भइसकेको सरकारी जग्गा, मालपोत कार्यालयका कर्मचारीहरूको मिलोमतोमा गैरकानूनी रूपमा दल्तीदेवी रायको नाममा नामसारी गरी बिक्री गरिएको भ्रष्टाचारको मुद्दा हो। विशेष अदालतले मालपोत अधिकृत रामजिनिस राउत र ना.सु. शंकरप्रसाद आचार्य तथा जग्गा आफ्नो नाममा गराउने दल्तीदेवी रायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दोषी ठहर गरेको तर ना.सु. पूर्णबहादुर के.सी.लाई सफाइ दिएको थियो। साथै, रु. ११ लाख बिगो कायम हुनुपर्ने वादीको दाबीलाई अस्वीकार गरेको थियो। उक्त फैसलाउपर वादी र प्रतिवादी दुवै पक्षले गरेको पुनरावेदनमा सर्वोच्च अदालतले विशेष अदालतको फैसलालाई नै सदर गरेको छ।

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मुद्दा:- भ्रष्टाचार (सरकारी जग्गा व्यक्तिको नाउँमा दर्ता)। मुद्दा नं. ०७४-CR-१३०९ मुद्दा नं. ०७४-CR-१६०४ शुरु फैसलाको विवरण शुरु तहमा फैसला गर्ने न्यायाधीशहरु : माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द माननीय न्यायाधीश श्री चण्डीराज ढकाल माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य शुरु तहमा फैसला गर्ने अदालत : विशेष अदालत काठमाडौं फैसला मिति : 20७४।०३।३० मुद्दा नं. : ०७२-CR-००७० पुनरावेदन परेको मिति : २०७५।०१।१४ र २०७५।०२।२८ न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(घ) एवं विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत पुनरावेदनपत्र सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड बारा जिल्ला, वीरगंज चिनी कारखानाको नामबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा दर्ता कायम भइसकेको बारा जिल्ला, साबिक डुमरवाना गा.वि.स. वडा नं. ४ को कि.नं. १९० को ज.वि. १-०-१५-० जग्गा डुमरवाना गा.वि.स. का सचिव, मालपोत कार्यालयका कर्मचारीहरु समेतको मिलोमतोमा दल्तीदेवी रायको नाममा नामसारी गरी सोही जग्गा श्यामकृष्ण दुगु श्रेष्ठ, सोनाम मानन्धर र श्यामकृष्ण प्रजापतिलाई झुक्याई मिति २०७०।०४।२४ मा र.नं. ८९२/१ को राजिनामा पास गरिदिएको हुँदा छानबिन गरी दोषीहरुलाई कारबाही गरी हाम्रो रकम समेत दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको सोनाम मानन्धर समेतको उजुरी निवेदन। बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा रामभजन राय थारुको नाममा सर्वे नापीको समयमा नाप नक्सा भई नि.नं. १९९ मिति २०४०।१०।१६ को दा.खा. निर्णयबाट वीरगंज चिनी कारखानाको नाममा दर्ता कायम हुन गएको; उल्लेखित जग्गा हाल चिनी कारखानाबाट मिति २०६२।०७।०७ को निर्णयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गई स्रेस्ता कायम हुन गएको; साबिक रामभजन राय थारुको नामबाट वीरगंज चिनी कारखानाले अधिग्रहण गरी लिई राखेको जग्गा साबिक स्रेस्ता जिर्ण भएको दा.खा. गर्दा कि.नं. नकाटिएको कारण दोहोरो स्रेस्ता कायम हुन गएको देखिएको; साबिक स्रेस्ता खारेज नभएको अवस्थामा जग्गाधनी रामभजन राय थारुको मृत्युपश्चात निजका हकदार दल्तीदेवी रायले एकपटक हक हस्तान्तरण भइसकेको जग्गा कार्यालयलाई झुक्याई आफ्नो नाममा नामसारी गरी र.नं. ८९२/१ मिति २०७०।०४।२४ को राजिनामा लिखतले श्यामकृष्ण श्रेष्ठ समेत जना तीनको नाममा पारित भई गएको; वीरगंज चिनी कारखानाबाट २०६२।०७।०७ को निर्णयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गई स्रेस्ता कायम भएको सो कित्ता भएको दुई पाना मोठ यस कार्यालयको मोठबाट झिकिएको भन्ने बेहोरा उल्लेख गरेको कागजात मिसिल सामेल रहेको। बारा जिल्ला, साबिक डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा दल्तीदेवीको नाममा मालपोत कार्यालय बाराको नि.नं. १०४६ मिति २०७१।०१।३१ को निर्णयले नामसारी भएको, निर्णय सहितको सक्कल मिसिल तामेली र सम्बन्धित मोठमा खोजतलास गर्दा फेला नपरेको, उक्त मिसिल दल्तीदेवीका छोरा रामाशिष राय र कृष्णबाबु चौधरी निजका मतियारहरुले गायब पारेको हुन सक्ने भनी फाँटवालाबाट प्रतिवेदन प्राप्त भएको, वीरगंज चिनी कारखानाको नाममा दा.खा. निर्णय भएको नि.नं. १९९ मिति २०४०।१०।१६ को मालपोत कार्यालय बाराको दा.खा. निर्णयको सक्कल फाइल खोज तलास भइरहेको हालसम्म फेला नपरेको भनी जवाफ र प्रतिक्रिया प्राप्त भएको, उद्योग मन्त्रालयको च.नं. १७०६ मिति २०७०।१२।१८ को पत्रबाट बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ को कि.नं. १९० को १-०-१५ जग्गा वीरगंज चिनी कारखानाको नामबाट नेपाल सरकारको नाममा नामसारी भइसकेको भनी जग्गाधनी प्रमाणपत्रको छाँयाप्रति समेत राखी खुली आएको, नामसारी मिसिल खोजतलास गर्न एवं चिनी मिलमा रहेको मोठ स्रेस्ता दोहोरो देखिएकोले यसलाई तत्काल समाधान गर्नेतर्फ कदम चालेको नपाइएको, व्यक्ति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाउँमा दोहोरो भईरहेको स्रेस्ताको अवस्थालाई कार्यालयबाट संशोधन गर्न भएको प्रयासलाई कानूनबमोजिम यथाशिघ्र निर्णय गर्न विभागीय निर्देशन दिनुपर्ने भनी भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सम्मरबहादुर सिंह ठकुरी समेतले दिएको प्रतिवेदन। जिल्ला बारा, डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा दल्तीदेवीको नामबाट भक्तपुर जिल्ला, ठिमी बस्ने श्याकृष्ण श्रेष्ठ, श्यामकृष्ण प्रजापति र सोनाम मानन्धरको संयुक्त नाममा रजिष्ट्रेसन पास भई गएको हो। त्यो जग्गा दल्तीदेवीको नाममा कहिले के कसरी आएको हो र सो भन्दा अघि कसको नाममा दर्ता थियो ? मलाई थाहा भएन भनी दल्तीदेवी रायको नामबाट श्यामकृष्ण श्रेष्ठ समेतको नाममा पारित लिखतका लेखक जीवनाथ राउतले आयोग समक्ष मिति २०७१।५।२० मा गरेको बयान। बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा दल्तीदेवी रायको नाममा दर्ता रहेको र निजबाट श्यामकृष्ण श्रेष्ठ समेत ३ जनाको नाममा रजिष्ट्रेशन पारित भई गएको हो। दल्तीदेवीको नाममा के-कसरी आएको हो ? थाहा भएन भन्‍ने एकै बेहोराका लिखत साक्षीहरु शिवरतन महतो र सुकदेव महतोले अनुसन्धानको क्रममा मिति २०७१।५।२० मा गरेको बयान। म मालपोत कार्यालय बारामा २०६८ चैत्रदेखि 2070।10।12 सम्म कार्यरत रहेको थिएँ। शुरुमा ३ दिन मोठ फाँटमा काम गरेँ, केही महिना रजिष्ट्रेशन फाँटमा र अधिकांश समय मुद्दा फाँटमा रही काम गरेँ। मुद्दा फाँटमा प्रमाण हेरी नामसारी, संशोधन, दा.खा. लगायतको निर्णय गरिन्छ । बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं.४ को कि.नं. १९० को १-०-१५-० जग्गा वीरगंज चिनी कारखानाको नाममा रहेको र त्यहाँबाट उद्योग मन्त्रालयको नाउँमा दा.खा. भएर गएको भन्‍ने मलाई थाहा छैन। चिनी मिलको जग्गा व्यक्तिको नाममा नामसारी भयो भन्‍ने हल्ला सुनेपछि मोठ स्रेस्ता पल्टाएर हेर्दा मात्र थाहा भएको हो। उक्त जग्गा नेपाल सरकार, उद्योग मन्त्रालयको नाममा रहेको कुरा नामसारी हुदाँकै बखत थाहा हुन्थ्यो भने त्यो नामसारी हुन सक्दैन थियो । सम्बन्धित फाँटबाट के-कसरी मोठ रोक्का भयो, मिसिल हेरेर मात्र थाहा हुन्छ । उक्त कार्यमा मेरो संलग्नता छैन भनी प्रतिवादी शंकर आचार्यले मिति २०७१।५।२३ मा अनुसन्धानको क्रममा गरेको बयान। मैले मालपोत कार्यालय बारामा २०६८ जेष्ठ देखि हाजिरी भई २०७०।७।१२ गतेसम्म काम गरेँ। डुमरवाना-4 को कि.नं. 190 को जग्गा दल्तीदेवी थरुनीको नाममा नामसारी हुनु भन्दा पहिला मोठ, रोक्का भिडी आएपछि फाँटवालाले टिप्पणी लेखी पेश गरेपछि मैले निर्णय गरेको छु। निर्णय मिति थाहा नभएको उक्त जग्गा वीरगंज चिनी कारखानाको नाममा दर्ता कायम भई 2070 सालमा चिनी कारखानाबाट उद्योग मन्त्रालयको नाममा नामसारी भएको भन्‍ने सम्बन्धमा मलाई थाहा थिएन। मालपोत कार्यालयको कर्मचारीको संलग्नता हुन सक्छ। मोठ र रोक्का फाँटका खरिदार भुवन थापा मगर र ना.सु. पूर्णबहादुर के.सी.लाई बुझ्दा हुन्छ भनी राम जिनिश राउतले अनुसन्धानको क्रममा गरेको मिति २०७१।६।१२ को बयान। म 2069।10।29 देखि मालपोत कार्यालय बाराको खरिदार पदमा कार्यरत छु। यस भन्दा पहिले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, पर्साको कार्यालय सहयोगी पदमा कार्यरत थिए। बारा जिल्ला, साबिक डुमरवाना गा.वि.स. कि.नं. १९० को १-०-१५-० जग्गाको सम्बन्धमा मलाई त्यस बखत नयाँ कर्मचारी भएकोले थाहा भएन। त्यो जग्गाको मोठ के.सी. सरले (पूर्णबहादुर के.सी.) वा मैले, कसले भिडाएको हो दोधारमा छु। मैले उक्त मिसिल बुझेको र पूर्ण के.सी. सरले पूर्जा बनाएको हो। मिसिल फेला परे मोठ कसले भिडाएको भन्‍ने थाहा हुने थियो। मोठ नभिडी नामसारी र किनबेच नहुने भएकोले सो जग्गाको मोठ भिडेको हो, तर कसले भिडाएको थाहा भएन। उक्त जग्गाको नामसारी सम्बन्धी मिसिल हराएर खोज तलास गर्दा मात्र उद्योग मन्त्रालयको नाममा रहेको पत्ता पाएँ। उक्त फाइल मैले बुझेको हो, पुर्जा बनाउने काम के.सी. सरले गर्नु भएको हो। त्यस पछि तामेलीमा बुझाउनुपर्ने बखत उक्त मिसिल चोरी भयो। उक्त कार्यमा को-कस्को संलग्नता रहेको थियो ? मलाई एकीन जानकारी भएन। म का.स.बाट बढुवा भई मालपोत कार्यालय बारामा हाजिर भएको हुँदा मलाई मोठ सम्बन्धी कार्यको अनुभव, जानकारी नभएको र के.सी. सरबाट काम सिक्दै गरेको अवस्था थियो। उक्त मिसिल मैले बुझी नामसारी प्रकृयाको लागि पूर्ण के.सी. सरले राख्नु भएको र सम्पूर्ण फाइल सम्बन्धी काम के.सी.ले गर्नु भएको हो भनी अनुसन्धान अधिकृतसमक्ष भुवनबहादुर राना मगरले गरेको मिति २०७१।६।२७ को बयान। म डुमरवाना गा.वि.स.मा 2068।10।18 देखि 2070।09।30 सम्म सचिवको हैसियतले कार्यरत रहेको थिएँ भने हाल मनहर्वा गा.वि.स.मा कार्यरत छु । बारा जिल्ला, डुमरवाना गा.वि.स. कि.नं. १९० को १-०-१५-० जग्गाको सिफारिस गर्ने क्रममा निवेदन, फिल्डबुक उतार, लालपुर्जा, नागरिकताको फोटोकपी लिएर दल्तीदेविको छोरा रामाशिष राय र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तत्कालीन बारा जिल्ला सदस्य कृष्णबाबु चौधरीले फोन गरी र भेटी दबाब समेत दिएका थिए। लालपूर्जा र फिल्डवुकमा पनि स्पष्ट नाम उल्लेख भएको सक्कल लालपूर्जामा गोलो नलगाएको हुँदा नागरिकता समेतको आधारमा सिफारीस गरेको छु। उक्त जग्गा चिनी कारखानाको नामबाट उद्योग मन्त्रालयको नाममा गएको छ भन्‍ने मलाई थाहा थिएन। थाहा भएको भए सिफारीस दिने थिइन। कागजात सबै प्रष्ट खुलेपछि सर्जमिन गर्न आवश्यक देखिन। मालपोत कार्यालयले सबै अभिलेख भिडाई मात्र नामसारी गर्ने हुँदा र लालपूर्जा, फिल्डबुक उतार र नागरिकतामा सम्बन्धित व्यक्तिको जग्गा हो भन्‍ने देखिएकोले ससुराको नामको जग्गा बुहारीको नाममा नामसारी गरी दिन सर्जमिन नगरी सिफारीस गरिदिएको हो। डुमरवाना-4 निवासी कृष्णबाबु चौधरीले डरधम्की दिई आवश्यक कागजात पुर्‍याई सर्जमिन मुचुल्का गर्ने अवसर नदिई सिफारीस गर्न बाध्य बनाएको हो। सरकारी जग्गा भन्‍ने थाहा नभई उपलब्ध भएका कागजको आधारमा सिफारीस गरेको हुँ भनी सचिव कमल प्रसाद भूर्तेलले अनुसन्धानको क्रममा गरेको मिति २०७१।६।२८ को बयान । म मालपोत कार्यालय बाराको मोठ फाँटमा काम गर्दछु, खरिदार साहेबको आदेशमा मोठ झिक्ने राख्ने गर्छु। मलाई बारा जिल्ला, डुमरवाना गा.वि.स. ४ को कि.नं. १९० को १-०-१५-० जग्गा दल्तीदेवीको नाममा नामसारी भएको सम्बन्धमा र सो सम्बन्धी मिसिलको सम्बन्धमा थाहा छैन। मिसिल फाइलहरु खरिदार र सुब्बा साहेबको जिम्मा रहन्छ मेरो जिम्मामा छैन। मोठ स्रेस्ताको पाना कसले झिक्यो मलाई थाहा छैन भनी लछुमन साह कलवारले अनुसन्धानको क्रममा गरेको मिति२०७१।६।३० को बयान। बारा जिल्ला, साबिक डुमरवाना-४ कि.नं. १९० को १-०-१५-० जग्गा सम्बन्धमा मलाई केही थाहा छैन, विवाद पछि मात्र थाहा पाएँ। सो जग्गा सम्बन्धी मालपोत कार्यालय बारामा भएको छलफलमा म सहभागी भएको कुरामा अस्पष्ट छु। कुनै पार्टीको साथीसँग गएको थिएँ। मैले सिफारीस बनाई दिन कसैलाई दबाब दिएको छैन। गा.वि.स. सचिवसँग आर्थिक कागजात मागेकोमा दिएको थिएन, सो रिसईवी रहेको हुन सक्छ। आयोगबाट पत्र गएपछि र गाउँघरमा सुन्दा जमिन सरकारी भएको थाहा पाएको हुँ भनी कृष्णबाबु चौधरीले अनुसन्धानको क्रममा गरेको मिति २०७१।९।१ को बयान। बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा पहिले हजुरबुबाको नाममा थियो, पछि आमाको नाममा नामसारी गरी अहिले काठमाडौंको मानन्धर थरका व्यक्तिको नाममा बेचविखन गरी दिएको हो। उक्त जग्गा वीरगंज चिनी कारखानाको नामबाट उद्योग मन्त्रालयको नाममा नामसारी भई गएको नभई मेरो हजुरबुबाको नामबाट आमाको नाममा नामसारी भई बिक्री वितरण गरेको हो भनी रामाशिष रायले अनुसन्धानको क्रममा गरेको मिति २०७१।९।२ को बयान। म २०६४ साल श्रावण १४ देखि २०७१।०१।२६ गतेसम्म मालपोत कार्यालय बारामा कार्यरत रहेको थिएँ। उक्त समयमा मैले फाँट नं. १ मा सिमरा, डुमरवाना, मटिअर्वा समेत १८ वटा गा.वि.स. को मोठ हेर्ने काम गरेँ। बारा जिल्ला, डुमरवाना गा.वि.स. को वडा नं. ४ कि.नं. १९० को १-०-१५-० जग्गा रामभजन थारुको नाममा दर्ता थियो, स्रेस्ता पूर्जा खारेज थिएन। फिल्डबुक, गा.वि.स. को सिफारिस समेतको आधारमा ससुरा रामभजनको नामबाट बुहारीमा नामसारी भई गएको हो, मोठ भिडाउने काम सायद मैले नै भिडाए जस्तो संझना आउँछ। पूर्जा स्रेस्ता मैले नै सही गरेको छु। स्रेस्ता पूर्जामा हस्ताक्षर मात्र मेरो हो, कृष्ण बाबु चौधरीको राईटिङ रहेको छ। पूर्जा बनाउने अवस्थामा फाइल भुवन बहादुर राना मगरले बुझ्नु भएको हो। हाल उक्त फाइल गायब छ । उक्त जग्गा नापीको पालाको मोठ हेर्दा रामभजन राय थारुकै नाममा देखिएको, पूर्जा समेत भएको, कम्प्यूटर अभावबाट दोहोरो स्रेस्ता हेर्न सकिएन। पहिलेको कर्मचारीहरुले स्रेस्ता पूर्ण खारेज गरिदिएको भए यो अवस्था आउने थिएन। स्रेस्ता पूर्जा तयार गरेपछि उक्त फाइल उसैदिन तामेलीमा बुझाउन सक्ने अवस्था नभएको हुँदा कपडामा पोको पारी स्टील दराजमा राखेको अवस्थामा हराएको हो। उक्त फाइलहरु लछुमन यादवको रेखदेखमा रहन्थ्यो। कृष्णबाबु चौधरी र रामाशिष राय दोषी हुन भनी अनुसन्धान अधिकृत समक्ष प्रतिवादी पूर्णबहादुर के.सी. ले गरेको मिति २०७१।११।३ को बयान। पूर्ण सिंह बलामी र श्याम सोनार भन्‍ने व्यक्तिहरुबाट उक्त जग्गा खरिदको प्रस्ताव आएको हुँदा भविष्यमा राम्रो हुने देखी दल्तीदेवी रायबाट खरिद गरेको हो। हामीले उक्त जग्गा प्रति कठ्ठा रु.२,१०,०००।– का दरले लिने शर्तमा रु.१०,०००।– रुपैयाँ दिई खरिद गरी लिएको हो। हामीलाई दल्ती देवी, निजको छोरा रामाशिष राय र मालपोत कार्यालयका कर्मचारीहरुको मिलोमतो गरी फसाएका हुँदा यस किर्ते कार्यमा संलग्न सबैलाई कारबाही होस भन्‍ने बेहोराको श्यामकृष्ण प्रजापति, सोनाम मानन्धर र श्यामकृष्ण दुगु श्रेष्ठ समेतले अनुसन्धानको क्रममा गरेको मिति २०७१।११।१८ को बयान। बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ कि.नं. १९० क्षेत्रफल १-०-१५-० को जग्गा साबिकमा रामभजन रायको नाममा सर्वे नापीको समयमा नाप नक्सा भई मालपोत कार्यालय बाराको नि.नं. १९९ मिति २०४०।१०।१६ को दाखिला खारेज गर्ने निर्णयले वीरगंज चिनी कारखानाको नाममा दर्ता कायम भएकोमा सो जग्गा वीरगंज चिनी कारखानाबाट मिति २०६२।०७।०७ को निर्णयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा समेत नामसारी भई स्रेस्ता कायम भईसक्दा पनि रामभजन राय थारुको नामबाट वीरगंज चिनी कारखानाले अधिग्रहण गरी लिई सकेको जग्गा साबिक स्रेस्ता जिर्ण भएको वा दा.खा. गर्दा कि.नं. नकाटिएको अवस्थालाई दुरुपयोग गरी नामसारीका माध्यमबाट व्यक्तिका नाममा कायम भएर सो पश्चात लिखत पारीत गरी अन्य व्यक्तिहरुका नाममा दोहोरो स्रेस्ता कायम भएको साबिक स्रेस्ता खारेज नभएको अवस्थामा जग्गाधनी रामभजन राय थारुको मृत्यु पश्चात निजका हकदार दल्तीदेवी रायले एकपटक हक हस्तान्तरण भइसकेको जग्गा कार्यालयबाट नामसारी गर्न सफल भई र.नं. ८९२/१ मिति २०७०।०४।२४ को राजिनामा लिखतले श्यामकृष्ण दुगु श्रेष्ठ समेत ३ जनाको नाममा पारीत भएको देखिएको र साबिक स्रेस्ता फेला नपरेको भन्‍ने समेत बेहोराको मालपोत कार्यालय बाराको च.नं. ८५७५ मिति २०७०।१२।२० को पत्रबाट लेखी आएको देखियो।