2662 - फौजदारी
- Registration Number
- 8083
- Decision Date
- 2065-11-26
- Registration Date
- 2065-11-26
- Bench
- गौरी ढकाल, गिरीश चन्द्र लाल
Judgment
निर्णय नं. ८०८३ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
२०६१ सालको फौ.पु.नं.– ३५२१
फैसला मितिः २०६५।११।२६।२
मुद्दा :– लागू औषध सेतो हेरोइन खरिद तथा बिक्री वितरण ।
पुनरावेदक वादीः प्रहरीको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला सोलखुम्बु केरुङ्गा गा.वि.स. वडा नं.६ बस्ने लाक्पा तामाङ समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री हरिकुमार पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरि बाबु भट्टराई
मा.न्या.श्री केशरमान पति
§ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क) अनुसार कसूरदार ठहर हुनको लागि कुनै पदार्थलाई लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको देखिनु पर्ने ।
§ लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको भन्ने देखिन नआएको र कुनै वस्तु बरामद भै जाँच गराउँदा सो वस्तुलाई लागूपदार्थ नभएको भन्ने देखिएकोमा अन्य वस्तुलाई लागूपदार्थ भन्ने विश्वासमा पारी कारोबार गरेको भनी कसूर गरेको ठहर गर्न न्यायोचित नहुने ।
(प्रकरण नं.३)
पुनरावेदकतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण शर्मा पौडेल
प्रत्यर्थीतर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(६)(३) र दफा १७(क)
फैसला
न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुसी चक्रपथ स्थित सामाखुसीबाट चक्रपथ निस्कने सडकको चोकमा रामबहादुर थापा, सुरज गुरुङ, डम्बर श्रेष्ठ र लाक्पातासाङ समेतका ४ जना व्यक्तिहरू उभिई रहेका निजहरू मध्ये रामबहादुर थापाको हातमा रहेको कालो छालाको व्याग हेर्दा अंग्रजी अक्षरमा Made in thailand Heroin भनी लेखिएको र भित्रपट्टि हेर्दा सेतो हेरोइन फेला परेको र त्यसलाई तत्काल तौल गर्दा ४१० ग्राम भएको भन्ने समेत व्यहोराको मिति २०५२।११।१४ को बरामदी मुचुल्का ।
बरामद भएको ला.औ. हेरोइन ४१० ग्राम र रामबहादुर थापा समेतका ४ जना व्यक्तिलाई पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.नि. मनोज न्यौपाने समतेको प्रतिवेदन ।
बरामद भई आएको हेरोइन ४१० ग्रामबाट ३/३ ग्रामका नमूना निकाली छुट्टै खाममा राखेको भन्ने समेत व्यहोराको मिति २०५२।११।१५ को मुचुल्का ।
काठमाडौं जिल्ला अदालतका डि. दिलिप श्रेष्ठ समेतको रोहवरमा बरामद भएको ४१० ग्राम हेरोइन नष्ट गरिएको भन्ने समेत व्यहोराको मिति २०५२।११।२५ को नष्ट गरिएको मुचुल्का ।
म घरबाट काठमाडौं आई जग्गाको खोजी गर्दा जग्गाको दलाल रामबहादुर थापासँग भेटघाट भयो । त्यस्तैमा केहिदिन अगाडि कृष्ण नेवारले साथि डम्बरबहादुर श्रेष्ठसँग ला.औ. खरिद गर्ने मानिस छ ला.औ. खोज बिक्री गरेर फाईदा बाडौला भनी साथी डम्बर श्रेष्ठलाई भनी उक्त कुरा साथी डम्बर श्रेष्ठले मलाई भनेको र रामबहादुर थापाले चिनेको मानिस मार्फत ला.औ. छ भनी निज रामबहादुर थापाले भनेको र सुरज गुरुङ नामक व्यक्तिसँग भेट गर्न भनी म र रामबहादुर थापा गौशाला गयौं । चोकमा नै निज सुरज गुरुङलाई भेट्यौं । लागू औषध भएको मदन गुरुङ , सुमन गुरुङ, सामाखुशीमा बस्ने गरेको थाहा पायौं । अनि सुरजलाई लिएर सामाखुशी आयौं । त्यहां पुगेपछि लागू औषध किन्ने कुहिरे हो । उ लिन आउदैन उसको घरबेटी गुरुङ लिन आउछन् भनेपछि सो को योजना बनाई भोलिपल्ट २०५२।११।१४ गतेका दिन पूर्व योजना मुताबिक हामी पक्राउ परेका ४ जना सबै सामाखुशी गयौं । लागू औषध लिने गुरुङलाई कृष्ण नेवार भन्नेले चिनाई दिए अनि रामबहादुर थापाले निज गुरुङ भन्नेलाई लिई मदन गुरुङ र सुमन गुरुङलाई भेटाउन निजको कोठामा गए । केहीबेरपछि रामबहादुरले हातमा टाईगर लेखिएको लागू औषध लिई हामी भएको ठाउँमा आए सोहि अवस्थामा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको लाक्पा तामाङको बयान कागज ।
गाउँले सुरज गुरुङ मार्फत लाक्पा तामाङसँग चिनजान भएको हो । निज लाक्पाबाट डम्बर श्रेष्ठलाई चिनेको हुँ । त्यसपछि मदन गुरुङ, सुमन गुरुङसँग टाईगरछाप सेतो हेरोइन छ भन्ने भनेको हो सो को व्यवस्था गरी मिति २०५२।११।१४ गते लागू औषध हेरोइन बिक्री गर्नको लागि म समेत ४ जना उभिई बसेको अवस्थामा प्रहरीले ४१० ग्राम सेतो हेरोइन सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर थापाको बयान कागज ।