Summary
यस मुद्दामा प्रतिवादी पासाङ्ग दावा शेर्पाले मादक पदार्थ सेवन गरी आएका बेला मृतककी बुहारी फुर्बुटी शेर्पालाई कुटपिट गरेको र सो छुट्याउन आएका मृतक ओङजु शेर्पालाई पनि लात्ती मुक्काले संवेदनशील अंगहरूमा प्रहार गर्दा उनको मृत्यु भएको थियो। जिल्ला अदालतले प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिम कर्तव्य ज्यानमा जन्मकैद र क्षतिपूर्ति भराउने फैसला गरेको थियो। उच्च अदालतले भने यसलाई आवेश प्रेरित हत्या ठहर गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १७९(१)(क) बमोजिम १० वर्ष कैद र जरिवाना तथा क्षतिपूर्ति भराउने फैसला गर्यो। सर्वोच्च अदालतले नेपाल सरकार विरुद्ध विनोद कुँवर थारु (ने.का.प.२०७९, अंक-८, नि.नं. १०९१७) को नजिरलाई आधार मान्दै, प्रतिवादी र मृतकबीच पूर्व रिसइबी नभएको, तत्कालको उत्तेजनामा आत्मसंयम गुमाई कुनै घातक हतियार प्रयोग नगरी कुटपिट गरेको र उपचारका लागि आफैँ अग्रसर भएको अवस्थालाई मध्यनजर गर्दै, उच्च अदालतको फैसलालाई सदर गरी आवेश प्रेरित हत्या नै ठहर गरेको छ।
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री अव्दुल अजीज मुसलमान
फैसला
077-CR-1206
मुद्दा: कर्तव्य ज्यान।
फुतेम्बा शेर्पाको जाहेरीले नेपाल सरकार ----------------------------------१
विरुद्ध
जिल्ला संखुवासभा, साविक मकालु गा.वि.स. हाल मकालु गाउँपालिका वडा नं. 1 एङलुङ गाउँ घर भई हाल कारागार कार्यालय संखुवासभा, खाँदवारीमा कैदमा रहेका पासाङ्ग दावा शेर्पा --------------------------------------------------१
०77-CR-1273
जिल्ला संखुवासभा, साविक मकालु गा.वि.स. हाल मकालु गाउँपालिका, वडा नं.1 एङलुङ गाउँ घर भई हाल कारागार कार्यालय संखुवासभा, खाँदवारीमा कैदमा रहेका पासाङ्ग दावा शेर्पा ------------------------------------------१
विरुद्ध
फुतेम्बा शेर्पाको जाहेरीले नेपाल सरकार -----------------------------------१
सुरु तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री शान्तिप्रसाद आचार्य
संखुवासभा जिल्ला अदालत
फैसला मितिः 2076।10।13
पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित
माननीय न्यायाधीश श्री गोपाल भट्टराई
उच्च अदालत विराटनगर, धनकुटा इजलास
फैसला मितिः २०77।08।2३
न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र यस अदालतको ठहर यस प्रकार छः–
तथ्य खण्ड
मिति २०७६।०७।०६ गते बुधवार वेलुका अन्दाजी १८:०० बजेको समयमा मेरो भाई बर्ष ५६ को ओङजु शेर्पाको घरमा पासाङ्ग दावा शेर्पा आएर बर्ष ३७ की मेरी बुहारी फुर्बुटी शेर्पालाई विना कसुर कुटपिट गरेकोले, मेरो घरमा आएर मेरो श्रीमतीलाई किन कुटपिट गर्छस भन्दा तँलाई पनि कुट्छु भनि लाति बक्सिङले हिर्काई उत्तानो लडाई भुँडी,नाईटोसमेतका भागमा लातै लाताले हिर्काई मरणासन्न अबस्थामा पारी छाडि गएछ। भोलीपल्ट बिहान बुहारी पासाङ्ग लामु शेर्पाले मेरो सासु फुर्बुटी शेर्पा र ससुरा ओङजु शेर्पालाई लाता बक्सिङले कुटी लडाई मरणासन्न अवस्थामा पारी गयो,उपचारमा लगि दिनुहोस ससुरा मरणासन्न अबस्थामा छ भनि गाउँमा हल्ला गरेकोले गाउँलेहरू भेला भई ओङजु शेर्पालाई जिल्ला अस्पताल खाँदवारीमा उपचारका लागि लाँदै छ भन्ने सुनेकोले म भाईको सहयोग तथा उपचारको लागि आउदा, बिरामी ओङजु शेर्पाको बाटैमा पासाङ्ग दावा शेर्पाको कुटाईको चोटको कारणले मृत्यु भएको हुँदा शवलाई जिल्ला अस्पतालको शव गृहमा राखी जाहेर गर्न आएको छु, प्रतिवादीलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत बेहोराको फुतेम्बा शेर्पाले दिएको जाहेरी दरखास्त।
जिल्ला सङ्खुवासभा खाँदवारी नगरपालिका वडा नं. १ स्थित पूर्वमा गुरुङ सामुदायिक भवन,पश्चिममा खानेपानीको ट्याङकी, उत्तरमा नेपाल टेलिकम शाखा कार्यालय खाँदवारी सङ्खुवासभाको कम्पाउण्ड, दक्षिणमा जिल्ला अस्पताल सङ्खुवासभाको शौचालय यति चार किल्ला भित्र रहेको जिल्ला अस्पताल खाँदवारी,सङ्खुवासभाको कम्पाउण्ड भित्र रहेको वरिपरी टिनले बारेको,माथी टिनकै छानो लागाएर बनाएको पोष्टमार्टम गर्न बनाईएको घर रहेको,उक्त भवनको ढोका खोली भित्र प्रवेश गरी हेर्दा पोष्टमार्टम गर्न राखिएको टेवलमाथि उत्तर टाउको,दक्षिण खुट्टा बनाई उत्तानो अवस्थामा रहेको मृतक ओङजु शेर्पाको शव रहेको मृतक ओङजु शेर्पाको नाकको डाँडीको बायाँ पट्टीको भागमा सानो घाउ देखिएको, नाकबाट तरल पदार्थ निस्किएको, ढाडको पछाडिको भाग देखी घाँटीको पछाडीको भाग सम्मको पछाडिको ढाडको भागमा रातो डाम देखिएको, पेटको भाग फुलिएको जस्तो देखिएको भन्ने समेत बेहोराको घटनास्थल/लाश जाँच मुचुल्का।
Cause of Death: Blunt trauma injury to Chest and Abdomen भन्ने समेत बेहोराको मृतक ओङ्जु शेर्पाको शव परीक्षण प्रतिवेदन।
मृतक ओङजु शेर्पाको बुबा र मेरो हजुरबुबा दाजु भाई भएको हुँदा निज मृतक ओङजु शेर्पा मेरो काका नाता पर्छ।निज काका र मेरो घर नजिक नजिकै छ।मिति २०७६।०७।०६ गते साँझको समयमा म आफ्नो घरबाट मेरो बुबाको घर तर्फ जाँदै गर्दा निज काकाको श्रीमती मेरी काकी फुर्बुटी शेर्पा निजकै आँगनमा मादक पदार्थ सेवन गरी माती बिभिन्न किसिमको अपशव्दहरू बोल्दै हल्ला खल्ला गरेको सुनी मैले काकीलाई मातेर किन त्यस्तो अपशव्दहरू बोल्नु भएको काकी त्यस्तो शव्दहरू नबोल्नुहोस लाज हुन्छ भनि भन्दा काकीले के भयो त खाएपनि मैले आफ्नो खाए तिमीलाई के भयो भन्दै मसंग निहुँ खोज्ने कुरा गर्दै मलाई बिभिन्न किसिमको अपशव्दहरू बोल्दै निजले लगाएको लुङ्गि उचाली मलाई निजको योनाङ्ग देखाई दिएको हुँदा निज काकी भएको ठाउँमा म आई निज काकी फुर्बुटी शेर्पाको गालामा एक झापड हानें। मैले काकीलाई कुटेको काका ओङजु शेर्पाले देख्नु भएछ त्यसपछी निज काका म भएको ठाउँमा आई किन तैले मेरी श्रीमतीलाई कुटिस भन्दै मसंग निहु खोज्न थाल्नु भएको हुँदा मैले निज काका ओङजु शेर्पालाई पनि घचेटी भुईमा लडाई दिएँ, त्यसपछि निज काकाले लडेकै अवस्थामा मलाई निजको खुट्टाले मेरो खुट्टामा लात्तीले हान्नु भएको हुँदा मैले निज काकालाई मरणासन्न हुने गरी दुई चार लात्ती निजको शरीरको छाती तथा पेटसमेतको भागमा हानी त्यहाँबाट आफ्नै घर तर्फ फर्की गएको थिएँ। त्यसको पर्सीपल्ट मिति २०७६।०७।०८ गते बिहान निज काकाको छोरी मेरो घरमा आई तपाँईले कुटेकै दिन देखी बुबा बिरामी थला पर्नु भएको छ उपचारको लागि लानु पर्ने भयो दाजु भनि मलाई भन्न आएकी हुँदा म निज काकाको घरमा गई निज काकालाई हेर्दा निज काका थला परी घरमा सुती रहनु भएको थियो, त्यसपछी मैले के भयो काका भनि सोध्दा तिमीले कुटेदेखी म बिरामी भएर थला परेको छु भन्दै बिस्तारै निजको पेट तर्फ हातले देखाउनु भएको हुँदा मैले ठिकै छ उपचारको लागि जानु पर्छ म खर्च व्यहोर्छु मैले गल्ती गरी हाले भनि मसमेत गाउँ घरका मानिसहरू भई निज काकालाई बोकी उपचारको लागि जिल्ला अस्पताल सङ्खुवासभातर्फ ल्याउँदै गर्दा निज काकाको बाटैमा मृत्यु भएको हो।मैले काकालाई घचेटी भुईमा लडाई लात्ताले कुटपिट गरेकै कारण बिरामी भई थला परी निज काकाको मृत्यु भएको हो भन्ने समेत बेहोराको प्रतिवादी पासाङ्ग दावा शेर्पाले अनुसन्धान अधिकारी समक्ष गरेको बयान।
मिति २०७६।०७।०६ गते बेलुकाको समयमा म र मेरो श्रीमती मात्र घरमा थियौ।सोहि समयमा गाँउको पासाङ्ग दावा शेर्पा के कहाँबाट मादक पदार्थ सेवन गरी आई म संग कुराकानी गरी रहेको थियो।निज पासाङ्ग दावा शेर्पा आएको केहि समय पछि छिमेकी ओङजु शेर्पाको श्रीमती फुर्वुटी शेर्पा सुंगुरलाई चारो दिएर आएको थियो। निजहरू सबै जना मेरो घरमा कुराकानी गर्दै थिएँ। म ट्वाईलेट गएर आउदा निज पासाङ्ग दावा शेर्पाले ओङजु शेर्पाको श्रीमती फुर्वुटी शेर्पालाई अश्लिल गाली गलौज गर्दै कुटपिट गरी रहेको देखी मैले यसरी अर्काको श्रीमतीलाई हातपात गर्नु हुन्छ भन्दै छुट्याए पछि फुर्वुटी शेर्पा आफ्नो घर तर्फ भागी गयो र पासाङ्ग दावा शेर्पा पछिपछि गएको थियो।म दिन भरी काम गरेर आएकोले सुती हाले, भोलीपल्ट निज ओङजु शेर्पाको श्रीमती फुर्वुटी शेर्पाले मेरो घरमा आएर हिजो पासाङ्ग दावा शेर्पाले मेरो घरमा गएर मलाई पनि कुटपिट गर्यो। मेरो श्रीमानलाई पनि कुटपिट गर्यो, निजले कुटपिट गरेकोले मेरो श्रीमान थला परेको छ,तपाईले गाँउलेहरू र कुटपिट गर्ने पासाङ्ग दावा शेर्पालाई बोलाई देऊ उपचार गर्नु लग्नु पार्यो भने पछि म निज पासाङ्ग दावा शेर्पाको घरमा गई तिमिले हिजो बेलुका ओङजु शेर्पालाई थला पार्ने गरी कुटे छौ,तिमिले उपचार गर्नुपर्छ भन्दा निज पासाङ्ग शेर्पाले मलाई उल्टै मैले कुटेको होइन,म जाँदिन, म जानु पर्यो भने पच्याक पुचुक पारी दिन्छु भने पछी म फर्केर आएको हो।भोली पल्ट मिति २०७६।०७।०८ गते बिहानको समयमा पुन:गाँउलेहरूसमेत भई पासाङ्ग दावा शेर्पालाई बोलाई ओङजु शेर्पालाई तिमिले कुटपिट गरे छौ, उपचार गराउनु पर्छ भने पछि पासाङ्ग दावा शेर्पाले मैले नै कुटेको हो म उपचार गर्छु भने पछि,निज घाईते ओङजु शेर्पालाई मसमेतले बोकी उपचारको लागी खाँदबारी तर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो।निज प्रतिवादी पासाङ्ग दावा शेर्पाले ओङजु शेर्पाको सम्बेदनशिल अंगहरू अनुहार, छाती, पेटसमेतमा मरणासन्न हुनेगरी कुटपिट गरी सोहि कुटपिटको कारण निज ओङजु शेर्पाको मृत्यु भएको हो।यसरी निज ओङजु शेर्पालाई कुटपिट गरी मार्ने प्रतिवादी पसाङ दावा शेर्पालाई कानून बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने समेत बेहोराको पेमा शेर्पाले गरिदिएको घटना विवरण कागज।
निज प्रतिवादी पासाङ्ग दावा शेर्पा गाँउको भतिजो नाता पर्दछ निज प्रतिवादीलाई गाँउमा लाक्पा टासीको बुबा भनेर बोलाउने गर्दछौ। मिति २०७६।०७।०६ गते बेलुका अन्दाजी १८:०० बजेको समयमा म गोरु,भैसीहरू गोठमा बाँधी घरमा आई सुंगुरको चारो लिई गई सुगुंरलाई चारो लगाई आफ्नो घरतर्फ फर्कने क्रममा मेरो छिमेकी पेमा शेर्पाको घर भित्र प्रतिवादी पासाङ्ग दावा शेर्पा र पेमा शेर्पाको श्रीमतीसमेत कुराकानी गरी बसी रहेको थिएँ।म पनि निजहरू कुराकानी गरी रहेको ठाउँमा गई बसेको मात्र थिए। निज प्रतिवादी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेछ,सोहि समयमा निज प्रतिवादी पासाङ्ग दावा शेर्पाले मेरो बारीमा किन भैसी,गोरुहरू लगेर राखिस्, तिमीहरूलाई कस्ले त्यहाँ लगेर राख्नु भन्यो भन्दै अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गरी हातले अनुहार, छातीहरूमा कुटपिट गर्न थाले पछि म भागेर आफ्नो घरमा गई मेरो श्रीमान ओङजु शेर्पालाई मलाई लाक्पा टासीको बुबाले मेरो बारीमा भैसी,गोरुहरू किन लगिस भन्दै मलाई कुटपिट गर्यो भनी सुनाएको थिएँ। मलाई कुटपिट गरेको केहि समय पछी म र मेरो श्रीमान घरको माथी बसि रहेको अवस्थामा निज प्रतिवादी पासाङ्ग दावा शेर्पा आई अघि मैले तपाईलाई कुटपिट नगरी कुटपिट गर्यो भनेर रुदै घर तिर आउनु भयो। अब चाहि म कुट्छु भन्दै मलाई प्रतिवादी पासाङ्ग दावा शेर्पाले कुटपिट गर्न थाले पछी मेरो श्रीमान ओङजु शेर्पाले किन कुटेको भन्दै छुट्याउन खोज्दा मेरो श्रीमानलाई पनि कुटपिट गर्दै घिसार्दै तल भुईमा झारी आँगनमा उत्तानो पारी सम्वेदनशील अंगहरू अनुहार,छाती,पेटको भागहरूमा लात्ती,मुक्काले हान्दै गर्दा भित्रबाट बुहारी पासाङ्ग लामु शेर्पाले कराउन थाले पछी निज विपक्षी पासाङ्ग दावा शेर्पाले अश्लिल गाली गलौज गर्दै छोडेर भागेर गयो। निज विपक्षीले मेरो श्रीमानलाई मरणासन्न हुने गरी कुटपिट गरेकोले मेरो श्रीमान ओङजु शेर्पाको नाक,मुखबाट रगत निस्किएको थियो।म र मेरो बुहारीले श्रीमानलाई आँगनबाट उठाई भित्र ओछ्यानमा लगि नाक,मुखबाट आएको रगत सफा गरी दिई उक्त रात सुत्यौँ। भोलीपल्ट मिति २०७६।०७।०७ गते बिहान गाँउ समाजका मानिसहरू तथा बुद्धिजीविहरूलाई भेलाजम्मा गरी छलफल गर्न खोज्दा निज विपक्षी नआए पछि गाँउसमाजका मानिसहरूले पासाङ्ग दावा शेर्पाले कुटपिट गरेको हुँदा निजले नै उपचार गर्नुपर्छ भनेको थियो। मिति २०७६।०७।०८ गते बिहानको समयमा निज विपक्षी पासाङ्ग शेर्पा मेरो घरमा आई काका ओङजु शेर्पालाई मैले नै कुटपिट गरेको हुँ,काकाको उपचार गराउन म आफै लैजान्छु भनी सोहि दिन पासाङ्ग दावा शेर्पा तथा गाँउका मानिसहरूसमेतले मेरो श्रीमान ओङजु शेर्पालाई उपचारको लागि खाँदबारी तर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको भनी मैले घरमा सुनी थाहा पाएको हुँ।हाल मेरो स्वास्थ्य अबस्था सामान्य छ।निज प्रतिवादी पासाङ्ग दावा शेर्पाले मेरो श्रीमानको सम्बेदनशील अंगहरू अनुहार, छाती, पेटको भागहरू समेतमा मरणासन्न हुनेगरी कुटपिट गरेको कारण मेरो श्रीमान ओङजु शेर्पाको मृत्यु भएको हो। यसरी बिना कारण मेरो श्रीमान ओङजु शेर्पाको संम्वेदनशील अंगहरूमा मरणासन्न हुने गरी कुटपिट गरी सोहि कारण मेरो श्रीमानको मृत्यु भएको हुँदा निज प्रतिवादी पसाङ दावा शेर्पालाई कानून बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने समेत बेहोराको फुर्वुटी शेर्पाले गरेको घटना विवरण कागज।